सिराहा । सिराहा जिल्लाको भगवानपुर गाउँपालिकाबाट ठूलो परिमाणमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ३ जना भारतीय र १ जना नेपाली नागरिक रहेका छन्।
भदौ १४ गते राति करिब ८ः१० बजे गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान, सिराहाबाट खटिएको टोलीले भगवानपुर चोक नजिकै शंकास्पद अवस्थामा रहेका मानिसहरूलाई जाँच गर्दा लागूऔषध खैरो हेरोइन फेला परेको हो।
उनीहरूबाट प्लास्टिकसहित ४१.९७ ग्राम र प्लास्टिकबाहेक ४० ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेटको BR 32 AX 1483 नम्बरको पल्सर मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।
पक्राउ परेका व्यक्तिहरूमा भारत, बिहार, मधुबनी जिल्ला, लौकही, घोवयाहीका २४ वर्षीय मोहम्मद मिस्टर, सोही जिल्लाको खुटौना, मुरारपट्टीका ३८ वर्षीय अख्तर हुसेन र लौकही, घोवयाहीकै २३ वर्षीय मोहम्मद मुस्तफा रहेका छन्। यस्तै, नेपाल, सप्तरी जिल्ला, खड्क नगरपालिका–६ का ४२ वर्षीय आबिद हुसेन पनि पक्राउ परेका छन्।
पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ। प्रहरीले उनीहरूलाई सिराहा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।