वीरगन्ज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला सम्पूर्ण समाजको प्रगतीको आधार रहेकी बताएकी छन् ।
वीरगन्ज उद्योग वाणिज्य संघले शनिबार वीरगन्जमा आयोजना गरेको बृहत महिला सम्मेलन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन । परिवार निर्माणदेखि उद्योग–व्यवसाय, शिक्षा, स्वास्थ्य र सामाजिक रुपान्तरणमा महिलाको योगदान अग्रपंक्तिमा रहेको उनको भनाइ छ ।
पूर्वराष्ट्रपति भण्डारीले तर समाजमा महिलाको योगदानलाई अपेक्षित सम्मान अझै प्राप्त नभएको टिप्पणी गरेकी छन् । उनले भनिन्, ‘त्यसैले हामीले महिला समाजमा पूर्णरुपमा सक्षम हुन्छन् भन्ने देखाउनुपर्छ, अझ बढी महिला आत्मविश्वासी बन्नुपर्छ ।’
उनका अनुसार महिलाको शक्ति र त्यागलाई संस्थागतरुपमा सम्मान गर्न सकियो भने समृद्ध नेपालको सपना पूर्णरुपमा पूरा गर्न सकिन्छ । नारी ः शक्ति, समर्पण, र सम्मानका लागि आयोजित महिला सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले मधेसको तराइ क्षेत्रका जनताहरु ऋहिले धेरै समस्याबाट पीडित भइरहेको बताएकी थिइन् ।
उनका अनुसार चुरे क्षेत्रको दोहनका कारण मधेसका जनताहरु गम्भीर समस्याबाट जुद्धिरहेका छन् । ‘चुरे क्षेत्रको दोहनले तराइँ क्षेत्रमा मरुभूमिकरण,बाढी डुबानका समस्या बढीरहेको छ, भूमिगत पानीको स्तर घटिरहेको छ,’ उनले भनिन् ।
यी सब समस्याले खानेपानी, कृषि, जनजीवनलाई समेत गम्भीर असर पु¥याइरहेको बताउँदै उनले अब सरकारले कडाइँका साथ नियमन गर्न जरुरी रहेको औल्याएकी छन् । कार्यक्रममा मधेसमा उत्कृष्ट कार्य तथा समाजसेवा गर्ने महिलाहरुलाई सम्मानित गरिएको थियो ।