सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–८, खतिवडा चोक नजिकैबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित एकजना युवा पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय, लालबन्दीको टोलीले २५ किलो गाँजासहित लालबन्दी–१४ का २० वर्षीय सन्ते ब्लोनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले गोप्य सूचनाका आधारमा शुक्रबार बिहान करिब ११ः५५ बजे खतिवडा चोक नजिकै सवारीसाधन जाँच गर्ने क्रममा यो सफलता हात पारेको हो। दुईजना व्यक्ति दुईवटा झोला मोटरसाइकलको बीचमा राखेर पत्थरकोटबाट लालबन्दीतर्फ आउँदै गरेको अवस्थामा शंका लागेर प्रहरीले रोक्न खोजेको थियो।
प्रहरीलाई देख्नेबित्तिकै बाग्मती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकल र झोला फालेर उनीहरू खेततर्फ भागेका थिए। प्रहरी टोलीले पिछा गर्ने क्रममा सन्ते ब्लोनलाई पक्राउ गर्न सफल भए पनि अर्का एकजना भने फरार भएका छन्। फरार व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गरेको दुईवटा झोलाभित्र ५ किलोका पाँचवटा पोका गरी कुल २५ किलो गाँजा फेला पारेको छ। पक्राउ परेका ब्लोन र बरामद भएको गाँजा तथा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला अदालत, सर्लाहीबाट लागूऔषध मुद्दामा थप अनुसन्धान गर्नका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ।