ट्रेन्डिङ

मध्य नेपाल सन्देशको १०औं वार्षिकोत्सव, तीन पत्रकार सम्मानित

 

वीरगन्ज । वीरगन्जबाट प्रकाशित हुँदै आएको मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आफ्नो १०औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा पत्रिकाले पत्रकारिताको माध्यमबाट मधेश प्रदेशमा महत्वपूर्ण योगदान पुर्‍याउने तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ।

यस वर्षको ‘उत्कृष्ट महिला पत्रकारिता पुरस्कार’ जनकपुरकी पत्रकार मनिका झालाई प्रदान गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिककी मधेश ब्युरो प्रमुख झालाई १५ हजार रुपैयाँको नगद पुरस्कारले सम्मान गरिएको हो।

त्यसैगरी, पत्रिकाले आफ्ना दुई जना नियमित स्तम्भकारहरूलाई पनि पुरस्कृत गरेको छ। ‘खोजी जवाफदेहिताको’ स्तम्भकार शिवनाथ प्रसाद यादव र सामाजिक मुद्दामा कलम चलाउँदै आएकी गीता भण्डारीलाई जनही ११ हजार १०० रुपैयाँको नगद पुरस्कारले सम्मान गरिएको छ। यादव र भण्डारी दुवै विगत १० वर्षदेखि मध्य नेपाल सन्देशमा निरन्तर लेख्दै आएका छन्।

कार्यक्रममा मुख्य अतिथिको रूपमा बोल्दै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारहरूलाई हतारको पत्रकारिताभन्दा सत्य र तथ्यमा आधारित पत्रकारितामा ध्यान दिन आग्रह गरिन्। उनले सामाजिक सञ्जाल र डिजिटल पत्रकारिताको यस युगमा हतारमा प्रकाशित हुने समाचारले समाजमा भ्रम फैलाएको र पत्रकारिताको विश्वसनीयतामा प्रश्न उठाएको बताइन्।

वार्षिकोत्सव समारोहमा महासंघका केन्द्रिय लेखा संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाल, सामाजिक अभियन्ता, सञ्चारमाध्यमका विभिन्न प्रतिनिधि र नागरिक समाजका व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै