वीरगन्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आफ्नो केन्द्रीय महाधिवेशन आउँदो चैत ६ र ७ गते गर्ने निर्णय गरेको छ।
यसअघि साउन महिनाभित्रै गर्ने तय गरिएको महाधिवेशनको मिति परिवर्तन भएको हो।
पार्टीको केन्द्रीय कार्यालयमा बसेको शीर्ष तहको विस्तारित बैठकले खडेरीका कारण तराई–मधेसका किसानहरूमा परेको असरलाई मुख्य एजेन्डा बनाएको छ। बैठकले संघीय र प्रादेशिक सरकारसँग तत्काल किसानका लागि क्षतिपूर्तिको प्याकेज घोषणा गर्न माग गरेको छ।
त्यसैगरी, पानीको अभाव र चापाकल, इनार तथा पोखरीहरू सुकेकाले खानेपानीको हाहाकार भएको भन्दै तीनै तहका सरकारलाई खानेपानीको सहज व्यवस्थापनका लागि गम्भीर ध्यानाकर्षण गराउने निर्णय पनि भएको छ।
प्रेस विज्ञप्तिमा, तराई–मधेसमा पानीको सतह घट्दै गएकाले यस क्षेत्र भविष्यमा मरुभूमिमा परिणत हुने खतरा रहेको चेतावनी दिइएको छ। त्यसैले, चुरे संरक्षणलाई तीनै तहका सरकारको प्राथमिकतामा राख्नुपर्ने र यसमा स्थानीय बासिन्दाको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।
बैठकले तराई(मधेशका जिल्लाहरूमा दिनप्रतिदिन बढ्दै गएका लुटपाट, चोरी र हत्याजस्ता आपराधिक घटनाहरूप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेको छ। अध्यक्ष महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा संघीय सरकारसँग आम नागरिकको जीउ–धनको सुरक्षा सुनिश्चित गर्न र कानुनी राज्यको प्रत्याभूति गराउन माग गरिएको छ।
