कलैया । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र कार्यशैलीको कडा आलोचना गरेका छन्।
बाराको कलैयामा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले ओलीको ‘अत्याचारले सीमा नाघेको’ र त्यसको सबैभन्दा ठूलो भुक्तभोगी आफूहरू भएको बताएका छन्।
रौतहटमा हुने जिल्लास्तरीय प्रशिक्षणमा सहभागी हुन काठमाडौंबाट सिमरा हुँदै गौर जाने क्रममा नेपालले बारा पार्टी कार्यालयमा छोटो सम्बोधन गरेका थिए। उनले वर्तमान राजनीतिक अवस्था अस्थिर रहेको र ओलीको नेतृत्वमा रहेको सरकार कुनै पनि बेला ढल्न सक्ने बताए। ‘राष्ट्रिय राजनीतिमा कहिले के हुने हो ठेगान छैन। कहिले यो केपी ओली नेतृत्वको सरकार ढल्छ भन्न सकिँदैन,’ उनले भने।
नेपालले ओलीमाथि जनवादी केन्द्रीयता, बहुमतको निर्णय र कमिटी प्रणालीको बेवास्ता गरेको आरोप लगाए। उनले ओलीको शैलीलाई ‘एकाधिकारवादी’ र ‘हुकुमी’ भन्दै यस्तो व्यक्तिबाट अलग्गिने निर्णय सही भएको जिकिर गरे। उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको प्रसंग पनि उठाए। उनले ओलीले पहिला भण्डारीलाई ुआउनुस् आउनुस्ु भनेर बोलाएको र पछि प्रतिस्पर्धी बन्ने सम्भावना देखेपछि सदस्यता नै खारेज गरिदिएको दाबी गरे।
अध्यक्ष नेपालले ओलीका बोलीको कुनै भर नभएको र उनीसँग सम्बन्ध विच्छेद गरेर आफूहरूले सही कदम चालेको बताए। उनले आफ्नो पार्टीले संविधानको रक्षा गरेको दाबी गर्दै नेता तथा कार्यकर्ताहरूलाई पार्टीको अधिवेशन तयारीमा जुट्न निर्देशन दिएका छन्। कार्यक्रममा पार्टीका स्थानीय तथा केन्द्रीय नेताहरूको उपस्थिति थियो ।