वीरगन्ज । नेपाल हज समितिले सन् २०२६ (हज १४४७) को हज यात्राका लागि आवेदन खुला गरेको छ।
साउदी अरब सरकारले नेपालबाट १२०० जना मुस्लिम धर्मावलम्बीहरूलाई हज गर्नका लागि कोटा छुट्याएको छ।
हज गर्न इच्छुक नेपाली मुस्लिमहरूले नेपाल हज समितिको वेबसाइट nepalhajj.moha.gov.np मा रहेको आवेदन फारम डाउनलोड गरी आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा बुझाउन सक्नेछन्। आवेदन बुझाउने अवधि भदौ ६ गते देखि असोज २० गते (अक्टोबर ६, २०२५० सम्म तोकिएको छ।
हज यात्राको लागि आवश्यक कागजातहरूमा नेपाली नागरिकता र राहदानीको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको फोटो, कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र र आवेदकको बैंक खाताको चेकको प्रतिलिपि समावेश छन्। राहदानीको म्याद सन् २०२६ डिसेम्बर ३० भन्दा पछि सम्म कायम रहेको हुनुपर्नेछ।
पहिलो किस्ताबापतको शुल्क १,५०,००० रुपैयाँ राष्ट्रिय वाणिज्य बैंक, पुतलीसडक शाखामा रहेको नेपाल हज समितिको चल्ती खातामा जम्मा गरी सोको सक्कल भौचर आवेदन फारममा संलग्न गर्नुपर्नेछ।
थप जानकारीका लागि नेपाल हज समितिको सचिवालयमा सम्पर्क गर्न सकिनेछ।
