वीरगन्ज । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू पुनः सक्रिय राजनीतिमा फर्किसकेको भन्दै अब पछाडि नहट्ने स्पष्ट पारेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झासँगको भेटमा भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिला आफूलाई राजनीतिमा आउन प्रोत्साहन गरेको र अहिले बोली फेरेर रोक्न खोजेको आरोप लगाएकी छन्।
झाका अनुसार, भण्डारीले भनेकी छन्, ‘म राजनीतिक रूपमा अगाडि बढिसकेँ। एमालेबाटै अघि बढ्न चाहन्छु।’ उनले ओलीको पछिल्लो बोलीप्रति असन्तुष्टि जनाउँदै थपिन्, ‘अस्तिसम्म केपी ओलीले नै पूर्वराष्ट्रपति किन राजनीतिमा आउन पाउँदैन भनेर अन्तर्वार्ता दिनुभएको छ। अहिले उहाँले आफैँ बोली फेरेर मलाई रोक्दै हुनुहुन्छ।’
ओलीको पुरानो अन्तर्वार्ता अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ, जसमा उनले पूर्वराष्ट्रपतिहरू राजनीतिमा आउनु हुँदैन भन्नु ‘बेकारको कुरा’ भएको बताएका थिए। यसले भण्डारी र ओलीबीचको सम्बन्धमा तिक्तता बढेको संकेत गरेको छ।
भण्डारीले आफूलाई रोक्न खोजिए पनि आफ्नो राजनीतिक यात्रा जारी राख्ने सन्देश दिएकी छन्।