वीरगन्ज । बाराको प्रसौनी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई प्रहरीले हिरासतमा लिएको छ।
एक शिक्षकलाई वडा कार्यालयमा बन्धक बनाई निर्घात कुटपिट गरेको गम्भीर आरोपमा उनलाई पक्राउ गरिएको हो। यस घटनाले स्थानीय प्रशासन र राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ।
पीडित शिक्षक नागेश्वर यादवले दिएको जाहेरीका आधारमा प्रहरीले वडाध्यक्ष कुशवाहालाई भदौ २ गते नै नियन्त्रणमा लिएको थियो। बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बिजयराज पण्डितका अनुसार, वडाध्यक्षमाथि अमानवीय व्यवहारको मुद्दा चलाइएको छ। यस मुद्दामा अनुसन्धान जारी रहेको र प्रहरीले आवश्यक प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।
शिक्षक यादवलाई मदिरा सेवन गरी अर्धनग्न बनाएर कुटपिट गरेको भिडियो समेत बाहिरिएको छ ।
कुशवाहा माओवादीको पूर्व जिल्ला सदस्य तथा २०७९ सालमा निर्वाचित वडाध्यक्ष हुन्। उनको यो अराजक गतिविधि र पार्टी अनुशासन उलंघन गरेको भन्दै पार्टीका मधेश इन्चार्ज मातृका यादवले उनलाई ६ महिनाका लागि निलम्बन गरेका छन्। यद्यपि, पार्टीको तल्लो तह, जसमा प्रसौनी गाउँ समिति र बारा जिल्ला समन्वय समितिले कुशवाहाको पार्टी सदस्यता नै खारेज गर्न र सम्पूर्ण जिम्मेवारीबाट हटाउन माग गर्दै प्रदेश समितिलाई पत्र लेखेका थिए।
वडाध्यक्ष कुशवाहाको आपराधिक इतिहास प्रहरीका लागि नयाँ होइन। यसअघि पनि उनी चेक अनादर, कुटपिट लगायतका विभिन्न मुद्दामा संलग्न थिए। बारा जिल्ला अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा प्रहरीले जेठ ११ गते पनि उनलाई पक्राउ गरी अदालतमा पेश गरेको थियो। यसरी बारम्बार कानुनको दायरामा आउने व्यक्तिले जनप्रतिनिधिको गरिमामाथि नै प्रश्नचिह्न खडा गरेको छ।
हाल वडाध्यक्ष कुशवाहा प्रहरी हिरासतमा रहेकाले यस घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग जनस्तरबाट उठिरहेको छ।