रौतहट । जिल्लाको माधवनारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साहको हत्या गौर नगरपालिका–५ स्थित एक घरमा भएको खुलेको छ।
प्रहरी अनुसन्धानले सो घरमा डेरा गरी बस्ने माधवपुरका लक्ष्मण पासवानले हत्यापछि शव व्यवस्थापनको प्रयास गरेको देखाएको छ।
प्रहरी स्रोतका अनुसार, पासवानले शवसहितको सुटकेस बोक्न गौरको कबिर चोकबाट एक ई–रिक्सा बुक गरेका थिए। उनी ई–रिक्सामा सुटकेस लिएर बरहवा पुल पार पुगेका थिए। तर, सोही क्रममा ई–रिक्सा बिग्रिएपछि चालकले अर्को रिक्सा बोलाउन खोज्दा पासवानले इन्कार गरेको प्रहरीले जनाएको छ।
घटनाका बारेमा थप जानकारी दिन अहिले प्रहरी नियन्त्रणमा रहेका रिक्सा चालक राजकुमार महराले बयान दिएका छन्। उनले पासवान सुटकेस बोकेर पैदल नै अघि बढेको बताएका छन्।
प्रहरीको अनुसन्धान टोलीले गौर–५ को बालमन्दिर पछाडि रहेको पासवानको डेरामा रुबीको चप्पल लगायतका सामग्रीहरू पनि फेला पारेको छ। घटनापछि पासवान सम्पर्कविहीन भएकाले उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।