वीरगन्ज । कलैया उपमहानगरपालिका–२३, सिसहनिया चोकमा आइतबार राति भएको सवारी दुर्घटनामा एक मोटरसाइकल चालकको ज्यान गएको छ।
दुर्घटनापछि आक्रोशित स्थानीयले आज विहान सडक अवरुद्ध गरी प्रदर्शन गरेपनि अहिले स्थिति सामान्य बनेको छ।
प्रहरीका अनुसार, मृतक कलैया–२३ का उपेन्द्र राउत कुर्मी हुन्। कलैया–वीरगन्ज सडक खण्डमा बा ५९ प ४०५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ना १ ज १९४१ नम्बरको टाटा सुमो आपसमा ठोक्किएका थिए। राति ९ः३० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका कुर्मीको एल.एस न्यूरो अस्पतालमा उपचारकै क्रममा राति १०ः ४० बजे मृत्यु भएको हो।
दुर्घटनापछि आक्रोशित स्थानीयहरूले न्याय र सुरक्षित यातायातको माग गर्दै बैराठपुर चोकमा टायर बालेर सडक अवरुद्ध गरेका थिए। उनीहरूले लापरवाह चालकलाई कडा कारबाही गर्नुपर्ने माग राखेका थिए। सडक अवरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका थिए।
जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी अधिकारीहरूले घटनाको खबर पाएलगत्तै घटनास्थलमा पुगी स्थानीयसँग वार्ता गरेका थिए। प्रहरीको पहलमा र चालकलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि स्थानीयले विरोध फिर्ता लिएका छन्। हाल मृतकका परिवार र सवारी धनीबीच छलफल भइरहेको छ।
सडक अवरुद्ध हटाइएपछि यातायात आवागमन पुनः सुचारु भएको छ र अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।