ट्रेन्डिङ

कम्युनिस्ट आन्दोलनभित्रको विकृतिविरुद्ध विद्रोह : अध्यक्ष नेपाल

वीरगन्ज । नेकपा (एकीकृत समाजवादी)ले आफ्नो चौथो स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको सुदृढीकरण र जनताको आधारभूत अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालले सोमबार एक शुभकामना सन्देश जारी गर्दै नेपालको कम्युनिस्ट आन्दोलनको मूल लक्ष्य समाजवाद स्थापना गर्नु रहेको बताएका छन्।

नेपालले आफ्नो सन्देशमा पार्टीको पुनर्गठन दिवस मनाइरहँदा कम्युनिस्ट आन्दोलनको ऐतिहासिक यात्रा र यसले बोकेका उद्देश्यहरूलाई स्मरण गरे। उनले श्रमिक, किसान, दलित, महिला र उत्पीडित वर्गको मुक्ति तथा समाजवाद हुँदै वर्गविहीन समाज निर्माण गर्ने लक्ष्यलाई पार्टीले आत्मसात गरेको बताए।

अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी)को गठन कम्युनिस्ट आन्दोलनभित्र देखिएका विचलनहरू जस्तै व्यक्तिवाद, अहंकारवाद, स्वेच्छाचारिता र अधिकारको केन्द्रीकरणजस्ता विकृतिविरुद्धको विद्रोह भएको दाबी गरे। उनले पार्टीको स्थापनाले कम्युनिस्ट आन्दोलनलाई शुद्धीकरण, एकीकरण र सशक्तिकरण गर्ने ऐतिहासिक जिम्मेवारी बोकेको बताए।

यद्यपि, नेपालले नेपाली कम्युनिस्ट आन्दोलनमा अझै पनि धेरै विकृति र विसङ्गतिहरू रहेको स्वीकार गरेका छन्। उनले यसका विरुद्ध नेता, कार्यकर्ता र आम जनतालाई समेत सचेत तथा गोलबन्द गर्दै आन्दोलनलाई थप प्रगतिशील र जनमुखी बनाउनुपर्ने आवश्यकता औँल्याए।

अध्यक्ष नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि भारत र चीनबिच भएको भनिएको समझदारीप्रति चिन्ता व्यक्त गरे। उनले यस्तो संवेदनशील अवस्थामा मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि सरकार तथा सम्बन्धित सबै पक्षलाई व्यापक दबाब दिनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै