राष्ट्रिय मुक्ति पार्टी नेपालको देशव्यापी अभियान : ४१ जिल्लामा नेता परिचालन

वीरगन्ज । राष्ट्रिय मुक्ति पार्टी नेपालले देशभर संगठन विस्तार र सुदृढीकरणका लागि ४१ जिल्लामा नेताहरू परिचालन गर्ने निर्णय गरेको छ।

हालै सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले यो निर्णय गरेको हो।

पार्टीका प्रवक्ता रविन्द कुमार श्रेष्ठले दिएको जानकारीअनुसार, आगामी भाद्र ८ गतेदेखि असोज २२ गतेसम्म ‘राष्ट्रव्यापी संगठन विस्तार अभियान’ सञ्चालन गरिनेछ। यस अभियान अन्तर्गत ताप्लेजुङदेखि कैलालीसम्म र काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा नेता तथा कार्यकर्ता खटाइएको छ।

बैठकले देशमा गहिरो राजनीतिक संकट, सांस्कृतिक विघटन र आर्थिक दिवालियापनको अवस्था रहेको ठहर गर्दै देशव्यापी जनआन्दोलन गर्ने निर्णय पनि गरेको छ। पार्टीले २०७२ को संविधानले मधेशी, थारू, आदिवासी, मुस्लिम र दलितलगायतका उत्पीडित समुदायलाई राज्यबाट वञ्चित गरेको आरोप लगाएको छ।

राष्ट्रिय मुक्ति पार्टीले ‘स्वदेशवाद’, ‘बहुलराष्ट्रवाद’ र ‘सामुदायिक समाजवाद’लाई आफ्नो मूल सिद्धान्त मानेको छ। बैठकले उत्पीडित समुदायको एकता आवश्यक रहेको निष्कर्ष निकाल्दै ‘बहुल राष्ट्रिय राज्य’ निर्माण, सहकारी अर्थतन्त्रको प्रवर्द्धन र अन्तर्राष्ट्रिय समन्वयलाई प्राथमिकता दिने निर्णय गरेको छ।

साथै, बैठकले राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टी (जसपा) बीच गत श्रावण २९ गते भएको कार्यगत एकतालाई अनुमोदन गर्दै संयुक्त रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै