ट्रेन्डिङ

वीरगन्जका मेयरसँगको टकरावले सरुवा मागेँ : प्रजिअ गणेश अर्याल

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगन्ज महानगरपालिकाका मेयरसँगको ‘टसल’का कारण आफूले मन्त्रालयसँग सरुवा मागेको बताएका छन् । गृह मन्त्रालयले सरुवा गरेपछि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा सिडिओ अर्यालले यस्तो जिकिर गरेका हुन् ।

उनका अनुसार पछिल्लो समय महानगरका मेयर राजेशमान सिंहले हरेक काममा दोहोरो भूमिका निर्वाह गरिरहेका थिए । उनले भने, ‘महानगरको मेयर र जिल्ला प्रशासनबिच एउटा सहमति हुन्थ्यो, तर पछि महानगरले आफ्नो स्वार्थ अनुसार अर्को निर्णय गर्थ्यो । जस कारण वीरगन्जको सामाजिक सद्भाव नै बिग्रने अवस्थामा पुग्थ्यो । यसका कारण काम गर्न एकदम कठिनाइ हुन थालेको थियो ।’

महानगरमा मेयरसँग काम गर्न सक्ने अवस्था नभएपछि समयावधि नपुग्दै आफ्नो सरुवा मागेको अर्यालको आरोप छ । यसका बाबजुद आफ्नो १० महिने कार्यकालमा नागरिकको सेवामा कुनै कसर बाँकी नराखेको उनको दाबी छ ।

जिल्ला प्रशासन कार्यालयमा सेवामा सहजताका लागि स्थानीय भाषामा सूचनादेखि लिएर अन्य हेल्प डेस्कहरू स्थापना गरी सेवा प्रवाह गरेको उनी बताउँछन् । ‘भारतबाट नेपाल प्रवेश गर्ने भारतीयहरूलाई जाँचको बहानामा विभिन्न ठाउँमा हुने झमेलाबाट रोक्न आफ्नो योजना थियो, एकीकृत सुरक्षा प्रणाली स्थापना गरेर त्यो पूरा गर्न सकिनँ,’ उनले भने ।

उनका अनुसार वीरगन्ज भन्सारको कार्यालयका कारण त्यो सिस्टम लागु गर्न नसकिएको उनको दाबी छ ।

गृह मन्त्रालयले मंगलबार २० जना सहसचिव र २४ जना उपसचिवको एकै पटक सरुवा गरेको थियो । सोही क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। अर्यालको स्थानमा पाल्पामा कार्यरत तोय नारायण सुवेदी पर्साको जिम्मेवारी दिइएको छ।

गतको कार्तिकको दोस्रो साता अर्याल पर्सा जिल्लामा सरुवा भएर आएका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै