ट्रेन्डिङ

वीरगन्ज महानगरले लियो छात्रवृत्ति प्रवेश परीक्षा, २ हजार बढी विद्यार्थी सहभागी

वीरगन्ज । आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा पछाडि परेका विद्यार्थीहरूका लागि निजी विद्यालयमा पढ्ने सपना साकार पार्न वीरगन्ज महानगरपालिकाले एक महत्वपूर्ण कदम चालेको छ।

शैक्षिक सत्र २०८२र०८३ को छात्रवृत्ति प्रवेश परीक्षा शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ। यो परीक्षाले योग्य र जेहेन्दार विद्यार्थीहरूलाई निजी विद्यालयमा निःशुल्क अध्ययन गर्ने अवसर प्रदान गर्नेछ।

महानगरपालिकाले यस वर्ष कक्षा ९ र ११ मा छात्रवृत्ति उपलब्ध गराउन २,३०१ विद्यार्थीलाई आवेदन फाराम भर्न अवसर दिएको थियो। चारवटा परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा सञ्चालित यो परीक्षामा २६८ जना विद्यार्थी अनुपस्थित रहे।

यसको जानकारी दिँदै महानगरको शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले भने, ‘हाम्रो मुख्य उद्देश्य शिक्षामा समान अवसर सुनिश्चित गर्नु हो। यस परीक्षाले आर्थिक अभावका कारण पढाइ छोड्न बाध्य भएका विद्यार्थीहरूलाई ठूलो राहत दिनेछ।’

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले क्रमशः कक्षा १० र १२ सम्म यही सुविधा पाउनेछन्। वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमका अनुसार, यस वर्ष कक्षा ९ का लागि ८० र कक्षा ११ का लागि ३८ निजी विद्यालयमा छात्रवृत्तिको व्यवस्था गरिएको छ। निजी विद्यालयले आफ्ना विद्यार्थी संख्याको १० प्रतिशत कोटामा छात्रवृत्ति प्रदान गर्नुपर्ने नियम रहेको छ।

यस परीक्षामा सफल हुने विद्यार्थीहरूलाई क्लस्टरअनुसार सिफारिस गरिनेछ। सामुदायिक विद्यालयमा पढेका र वीरगन्जका स्थायी बासिन्दा रहेका विद्यार्थीलाई विशेष प्राथमिकता दिइएको छ। यसका साथै, आरक्षण कोटामा महिला, दलित, आदिवासी, अपाङ्गता भएका व्यक्ति, शहीद परिवार, र मधेश आन्दोलनका घाइतेका बालबालिकाहरूलाई पनि समावेश गरिएको छ।

महानगरपालिकाले केही दिनभित्रै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको छ। नतिजा प्रकाशन भएपछि, छात्रवृत्ति पाउने विद्यार्थीहरूलाई सम्बन्धित विद्यालयमा भर्नाका लागि आवश्यक प्रशासनिक प्रक्रिया सुरु गरिनेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै