वीरगन्ज । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन नेपाल आयल निगमलाई हस्तान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
पाइपलाइनको निर्माण कार्य सम्पन्न भई नियमित रूपमा पेट्रोलियम पदार्थ आयात भइरहेको छ।
नेपाल आयल निगम, मधेश प्रादेशिक कार्यालयका प्रमुख प्रलयंकर आचार्यका अनुसार, पाइपलाइनको प्राविधिक परीक्षण कार्य सकिएपछि छिट्टै यसको औपचारिक हस्तान्तरण गरिनेछ। यस विषयमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने वा अन्य तरिकाले हस्तान्तरण गर्ने भन्नेबारे छलफल भइरहेको उनले जानकारी दिए।
मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको सफलतापछि अब अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु हुने भएको छ। ६९ किलोमिटर लामो यो खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणको काम अन्तिम चरणमा छ।
प्रमुख आचार्यका अनुसार, काम अघि बढाउनका लागि चितवनमा कार्यालय स्थापना भइसकेको छ र केही दिनभित्रै माटो सम्याउने कार्य सुरु हुनेछ। भारत सरकारको सहयोगमा ‘जिटुजी’सम्झौताअनुसार निर्माण हुने यो परियोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। चितवनको लोथरमा २३ बिघाभन्दा बढी जग्गामा १ लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न मिल्ने टनेल पनि निर्माण गरिनेछ।
यसैबीच, अमलेखगञ्जस्थित आयल निगमको पेट्रोलियम पदार्थ लोडिङ गर्ने ुबोईु मा देखिएको समस्या समाधान गर्न भारतीय प्राविधिक टोलीले मर्मत गर्ने भएको छ।