ट्रेन्डिङ

कृषिमा लगानी प्रवर्द्धन गर्न वीरगन्ज र काठमाडौँका उद्यमीले खोले ‘एग्रो डेभलपमेन्ट फण्ड’

वीरगन्ज । नेपालको कृषि क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले ‘एग्रो डेभलपमेन्ट फण्ड लिमिटेड’ को स्थापनाको तयारी सुरु भएको छ।

कृषिमा आधारित उद्योग व्यवसायको विकास र विस्तारमा सहयोग पुर्याउने लक्ष्यका साथ काठमाडौंमा यस फण्डको स्थापना गर्न लागिएको हो।

नेपालमा कृषि क्षेत्रको विकासबाट रोजगारी सिर्जना गर्न, आयात प्रतिस्थापन गर्न र नागरिकको जीवनस्तर सुधार गर्न सकिने सम्भावनालाई मध्यनजर गर्दै यो पहल गरिएको हो। राज्यले कृषिलाई प्राथमिकतामा राखे पनि सही उद्यमीले उचित सहयोग नपाएको र बैंकको ऋण तथा ब्याजको बोझका कारण धेरै उद्योगहरू समस्यामा परेकाले उनीहरूलाई सहयोग पुर्याउने कम्पनीको मुख्य उद्देश्य रहेको बताइएको छ।

वीरगन्ज र काठमाडौंका उद्यमी, व्यवसायी तथा बैंक र बीमा क्षेत्रका अनुभवी व्यक्तिहरूको सामूहिक प्रयासमा ‘एग्रो डेभलपमेन्ट फण्ड लिमिटेड’ स्थापना गरिएको हो। कम्पनीको मुख्य प्रवर्द्धकहरूमा नेक्सजेन म्यानेजमेन्ट समूह, क्वेष्ट फर्मास्युटिकल्स समूह र कृषि उद्यमी शिवजी कलवार समूह रहेका छन्। कम्पनीमा नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्स लिमिटेडको २३.३३ प्रतिशतको सर्वाधिक लगानी रहेको छ।

पचास करोड अधिकृत पुँजी र तत्काल दश करोड चुक्ता पुँजी रहेको यो कम्पनी २०८२ असारमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो। निजी इक्विटीको कारोबार गर्ने अनुमति लिनका लागि आवश्यक प्रक्रिया पूरा गरी साउनको दोस्रो साता नेपाल धितोपत्र बोर्डमा निवेदन दिइएको छ।

कम्पनीको पाँच सदस्यीय सञ्चालक समितिमा रमेश कुमार भट्टराई अध्यक्ष र विजय बहादुर शाह, उमेश लाल श्रेष्ठ, श्रीचन्द्र भट्ट र प्रमोद कुमार साह सञ्चालक रहेका छन्।

एग्रो डेभलपमेन्ट फण्डले नेपालमा कृषि लगायतका उद्योग व्यवसायमा लगानी जुटाउने पुरानो प्रणालीलाई परिष्कृत गर्ने लक्ष्य लिएको छ। स्वपूँजी र बैंक कर्जाको अत्यधिक बोझले धेरै उद्योगहरू रुग्ण भएको अवस्थामा कम्पनीले समस्यामा परेका कृषि उद्यमीहरूलाई इक्विटी सेयरमा लगानी गरी विशेषज्ञ सेवा प्रदान गर्नेछ। यसका लागि कम्पनीले राज्य, संघीय सरकार र अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग समन्वय गर्ने प्रारम्भिक सम्पर्क पनि सुरु गरिसकेको छ।

कम्पनीले कृषि क्षेत्रमा सहयोग गर्न इच्छुक संघसंस्थाहरू र विदेशमा रहेका नेपालीहरूसँग रहेको अनुत्पादक पुँजी संकलन गरी कृषिमा आधारित उद्योग व्यवसायमा लगानी गर्ने योजना बनाएको छ। यसले कृषि क्षेत्रको दिगो विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै