वीरगन्ज । भारत र चीनले नेपालको सार्वभौम भूमि लिपुलेकलाई बेवास्ता गर्दै फेरि एक पटक द्विपक्षीय व्यापार सम्झौता गरेका छन्।
हालै चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भएको १२ बुँदे समझदारीको नवौँ बुँदामा लिपुलेक, शिप्की ला पास र नाथुला पासलाई व्यापारिक नाकाका रूपमा पुनः सञ्चालन गर्ने उल्लेख छ।
नेपालले आफ्नो नयाँ नक्सामा लिपुलेकलाई समावेश गरिसकेको र यसको स्वामित्वमाथि स्पष्ट दाबी गरेको अवस्थामा पनि दुवै देशले नेपालको संवेदनशीलतालाई उपेक्षा गरेका छन्। यो घटना नयाँ भने होइन।
सन् १९५४ देखि नै भारत र चीनले पटकपटक लिपुलेकलाई दुईपक्षीय सीमाना मानेर सम्झौता गर्दै आएका छन्। यसपटक पनि उनीहरूको यो कदमले नेपालको भूभागमाथि दुई ठूला छिमेकीको बेवास्तालाई पुनः उजागर गरेको छ।
