वीरगन्ज । उपसभामुख इन्दिरा राना मगरले आफूलाई पदबाट हटाउने सत्तारुढ दलहरूको प्रयासलाई ‘राजनीतिक स्वार्थ’ प्रेरित बताएकी छन्।
हाल अमेरिकामा रहेकी रानाले आफूमाथि लागेको आरोप पुष्टि गर्न चुनौती दिँदै आवश्यक परे जेल हाल्न समेत तयार रहेको बताएकी छन्।
उपसभामुख रानाले आफूले बालबालिकाको क्षेत्रमा काम गरिरहेको र आफ्नो जीवन खुला किताबजस्तो रहेको भन्दै सामान्य विषयमा राजनीतिक स्वार्थका लागि आरोप लगाइएकोमा दुःख व्यक्त गरिन्। उनले यो कदमलाई ‘लोकतान्त्रिक संस्कृति हो ?’ भन्दै प्रश्न पनि गरिन्।
यसैबीच, उपसभामुख रानाले अमेरिकाबाटै नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालासँग फोनमा कुरा गरेकी छन्। रानाका अनुसार कोइरालाले यो घटनाक्रममा आफ्नो साथ रहने आश्वासन दिएका छन्। यसअघि पनि उपसभामुखलाई हटाउने प्रयास हुँदा शेखर पक्ष विपक्षमा उभिएको थियो।
यता, विपक्षी दलहरूले पनि उपसभामुख हटाउने कदमविरुद्ध सशक्त प्रतिवाद गर्ने निष्कर्ष निकालेका छन्। रास्वपाले भने यो विषयलाई जनतासामु नै लैजानुपर्ने प्रस्ताव विपक्षी दलको बैठकमा राखेको छ। राना मगर १३ भदौमा नेपाल फर्किने बताइएको छ।