ट्रेन्डिङ

वीरगन्जको नगवामा वृक्षारोपण तथा संरक्षण अभियान सुरु

वीरगन्ज । वीरगन्ज महानगरपालिका–१६, नगवामा आज विभिन्न किसिमका बिरुवा वितरण गरी रुख–बिरुवा संरक्षण गर्ने विशेष अभियानको शुभारम्भ गरिएको छ।

यस अभियानले हरियाली प्रवर्द्धन र वातावरण संरक्षणमा सहयोग पुर्याउने लक्ष्य लिएको छ।

वन डिभिजन कार्यालय, पर्साको सहयोगमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दाहरूलाई फलफूल, छायाँ दिने र औषधीय गुण भएका बिरुवाहरू निःशुल्क प्रदान गरिएको छ। कार्यक्रमको शुभारम्भ गर्दै जनमत पार्टीका पर्सा अध्यक्ष ओम प्रकाश सरार्फले बिरुवा रोप्नु मात्र पर्याप्त नभई त्यसको संरक्षण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण भएको बताए। उनले घरदैलोमै पुगेर बिरुवा वितरण गर्ने र टोलटोललाई हराभरा बनाउने लक्ष्य राखिएको जानकारी दिए।

कार्यक्रममा सहभागी भएका स्थानीय बासिन्दाहरूले आफ्नो घर आँगन, विद्यालय र सार्वजनिक स्थानहरूमा बिरुवा रोप्ने प्रतिबद्धता जनाएका छन्। वडा नं. १६ कार्यालय परिसरमा पनि आवश्यक पर्ने जोकोहीका लागि बिरुवा राखिएको छ।

यस अभियानले वीरगन्जवासीहरूमा हरियाली संरक्षणप्रति सचेतना बढाउनुका साथै भविष्यमा स्वच्छ वातावरण निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रममा वन पैदावर आपूर्ति समितिका अध्यक्ष श्याम शंकर चौरसिया, जनमत पार्टीका केन्द्रीय तथा प्रदेश सदस्यहरू लगायत अन्य नेताहरूको पनि सहभागिता रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै