ट्रेन्डिङ

कुवेतमा विषाक्त मदिराले १२ नेपालीको ज्यान गयो, आप्रवासीलाई उपचारपछि देश निकाला गरिने

वीरगन्ज । कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाउने नेपालीहरूको संख्या १२ पुगेको छ।

यस घटनामा करिब ३० जना नेपाली नागरिक अझै पनि अस्पतालमा उपचाररत छन्।

गत साता ‘मेथानोल’ नामक घातक रसायन मिसाइएको अवैध मदिरा सेवन गरेपछि १६० भन्दा बढी आप्रवासी कामदार बिरामी परेका थिए। कुवेतको स्वास्थ्य मन्त्रालयले २३ जनाको मृत्यु भएको पुष्टि गरेको छ, जसमध्ये १२ जना नेपाली नागरिक हुन्।

यस घटनापछि कुवेतको आन्तरिक मन्त्रालयले अवैध मदिरा उत्पादन र बिक्रीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न व्यापक सुरक्षा अभियान चलाएको छ। यस अभियानमा हालसम्म ६७ जना पक्राउ परेका छन्, जसमा केही नेपाली नागरिक पनि समावेश छन्।

सुरक्षा निकायले सालमिया क्षेत्रबाट एक नेपाली नागरिकलाई मेथानोलसहित पक्राउ गरेको थियो। उनको बयानका आधारमा अन्य नेपाली नागरिकहरूलाई पनि नियन्त्रणमा लिइएको छ। यसका साथै, भारतीय र बंगलादेशी नागरिकहरू पनि पक्राउ परेका छन्। कुवेती सञ्चारमाध्यमका अनुसार, पक्राउ परेका मुख्य अभियुक्तहरूमाथि ‘हत्या’को अभियोग लगाइने सम्भावना छ।

साथै, सुरक्षा निकायले विभिन्न आवासीय र औद्योगिक क्षेत्रमा सञ्चालित ६ वटा अवैध मदिरा कारखानाहरू पनि ध्वस्त पारेको छ। यस अभियानका क्रममा अवैध बसोबास र श्रम कानुन उल्लंघन गरेको आरोपमा २५८ जनालाई पनि पक्राउ गरिएको छ।

विषाक्त मदिरा सेवनका कारण अस्पतालमा भर्ना भएका सबै आप्रवासीलाई उपचारपछि देश निकाला (डिपोर्ट) गरिने कुवेती अधिकारीहरूले बताएका छन्। उपचारपछि डिस्चार्ज हुनेबित्तिकै उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गरिनेछ र उनीहरूलाई पुन ः कुवेत प्रवेशमा प्रतिबन्ध लगाइनेछ।

कुवेतमा मदिरा उत्पादन, सेवन र बिक्रीमा पूर्ण प्रतिबन्ध रहेको छ। यस्तो गतिविधिमा संलग्न पाइएमा तत्काल देश निकाला गर्ने कडा कानुन छ।

यस घटनाले कुवेतमा रहेका करिब १ लाख ६० हजार नेपालीहरूको समुदायमाथि नकारात्मक असर परेको छ। पछिल्लो समय लागूऔषध ओसारपसार र अवैध मदिरा उत्पादनजस्ता गैरकानूनी गतिविधिमा नेपालीहरू संलग्न भएको भन्दै नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाली कामदारहरूलाई सचेत गराएका छन्। दूतावासका अनुसार, कुवेतका जेलमा रहेका ५० प्रतिशतभन्दा बढी नेपाली रक्सी र लागूऔषधसम्बन्धी मुद्दामा परेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै