ट्रेन्डिङ

वकिलहरूको आक्रमणविरुद्ध पत्रकार महासंघ आन्दोलनमा

जनकपुरधाम । पत्रकारहरूमाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले आन्दोलनको घोषणा गरेको छ।

दोषी वकिलहरूलाई कारबाहीको माग गर्दै महासंघले आजदेखि जिल्ला प्रशासन कार्यालय धनुषामा धर्ना कार्यक्रम सुरु गरेको छ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा सुरु भएको यस आन्दोलनमा सहभागी हुन महासंघका अध्यक्ष पुरण गुप्ताले सबै पत्रकारलाई आग्रह गरेका छन्। मधेश प्रदेश अध्यक्ष श्यामप्रसाद बञ्जाराले घटनाका दोषीलाई पक्राउ गरी कानुनी कारबाही अगाडि नबढाएको भन्दै प्रहरी प्रशासनविरुद्ध आन्दोलन गर्न बाध्य भएको बताए।

गत साउन २७ गते गुठी संस्थानबाट प्राप्त चार कठ्ठा जग्गा संरक्षणको विषयमा विवाद हुँदा नेपाल बार एसोसिएसन जनकपुरका पदाधिकारीसहितका वकिलहरूले पत्रकारहरूमाथि आक्रमण गरेका थिए। सो क्रममा महासंघका प्रदेश अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकारहरू दिवाकर राय र अनिल निराला घाइते भएका थिए।

यस घटनामा संलग्न पाँच जना वकिलहरूविरुद्ध साउन २८ गते नै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गरिएको थियो। तर, प्रहरीले हालसम्म कसैलाई पनि पक्राउ नगरेको भन्दै पत्रकारहरू आक्रोशित भएका छन्। शनिबार पत्रकार महासंघ धनुषा शाखामा भएको भेलाले प्रहरी प्रशासनविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै