वीरगन्ज । फौजदारी मुद्दामा कानूनी कारबाही प्रक्रियामा रहेका व्यक्तिलाई पार्टी सदस्यता दिएको भन्दै चौतर्फी आलोचना भएपछि नेपाली कांग्रेसले महोत्तरीका देवेन्द्र यादवको सदस्यता खारेज गरेको छ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै जनाएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्माबीच पार्टी केन्द्रीय कार्यालयमा छलफल भइरहेको बेला केही कार्यकर्ताले देवेन्द्र यादवलाई पार्टी प्रवेश गराउन अनुरोध गरेका थिए। सोहीअनुरूप यादवलाई पार्टीको सदस्यता दिइएको थियो। तर, पछि यादवमाथि फौजदारी मुद्दा रहेको जानकारी प्राप्त भएपछि उनको सदस्यता खारेज गर्ने निर्णय गरिएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘निज व्यक्ति उपर फौजदारी कानूनी कार्वाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ।’
कांग्रेसले यस घटनाको विषयमा गृह प्रशासनको पनि ध्यानाकर्षण गराएको छ। साथै, यादवलाई पार्टीमा प्रवेश गराउन ल्याउने कार्यकर्ताहरूसँग पनि यसबारे गम्भीरतापूर्वक जानकारी लिइरहेको कांग्रेसले जनाएको छ।