वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाउँदै संसद्मा कडा टिप्पणी गरेका छन्।
उनले प्रधानमन्त्रीको विगतको अभिव्यक्तिलाई उद्धृत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गृहमन्त्री बन्नुमा ओलीकै भूमिका रहेको संकेत गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै पुनले प्रश्न गरे, ‘भिजिट भिसामा विदेश गएर, उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केका र मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तलाई सरकारी टेलिभिजनमा जागिर कसले लगायो ? कसले गृहमन्त्री बनायो ?’ उनले यो भनाइ प्रधानमन्त्री ओलीकै भएको स्मरण गराउँदै त्यसको जवाफ पनि उनले नै दिनुपर्ने बताए।
पुनले सरकारमाथि विभिन्न अनियमितताको आरोप पनि लगाए। उनले पासपोर्ट छपाइको संवेदनशील ठेक्कामा मिलेमतो भएको र प्रधानमन्त्रीनिकट व्यापारीलाई सुम्पिएको दाबी गरे। पोखराको १३५ रोपनी लिची बगैँचा हडप्न गरिएको घुस डिलको भिडियो सार्वजनिक हुँदा पनि प्रधानमन्त्रीले घुस डिलमा संलग्न मन्त्रीलाई संरक्षण दिएको पुनको आरोप छ।
उनले सोधे, ‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद् बैठकमा काण्डैकाण्डमा मुछिएका मन्त्रीहरूको अनुहारतिर हेर्नुभएको छ कि छैन ?’
उनले सरकारको कार्यसम्पादन पूर्ण रूपमा असफल भएको दाबी गरे। उनले कांग्रेस र एमाले मिलेर सरकार चलाए पनि युवाहरूको निराशा सम्बोधन गर्न नसकेको बताए। दुई दलबीच गत वर्ष भएको सात बुँदे सहमतिअनुसार संविधान संशोधन नभएकोमा पनि उनले सरकारको आलोचना गरे। पुनले सरकार संविधान संशोधनको बाटोमा नभई संविधान सकाउने बाटोमा रहेको आरोप लगाए।
उनले सरकार दलाल र माफियाहरूको चंगुलमा परेको दाबी गर्दै सरकारका हरेक निर्णय निश्चित स्वार्थ समूहका लागि हुने गरेको बताए। उनले विश्वविद्यालयहरूलाई भर्तीकेन्द्र र न्यायालयलाई भागबन्डाको मैदान बनाइएको आरोपसमेत लगाए।