काठमाडौं । पशुपति आर्यघाटमा जलाइएका शवबाट हड्डी र खरानी निकालेर किनबेच गर्ने गिरोहमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्ने दुवै जना मधेश प्रदेशका रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी बलानबिहुल गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–७ गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन् । ठाकुर हड्डी र खरानी खरिद गर्ने मुख्य व्यक्ति हुन् भने यादवले उनलाई यो काममा सहयोग गर्ने गरेका थिए।
प्रहरीले ठाकुरको साथबाट प्लास्टिकमा पोको पारिएको हड्डीको धुलो र खरानीजस्तो देखिने वस्तु पनि बरामद गरेको छ। यसअघि प्रहरीले यही आरोपमा गणेशप्रसाद ढकाल र विनायक मैनालीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो।
ढकाल र मैनालीमाथि साउन २३ गते पशुपति आर्यघाटको २ नम्बर चितामा जल्दै गरेको शवबाट हड्डीसहितको खरानी निकालेर बेचेको आरोप छ। यस घटनाको थप अनुसन्धान प्रहरी वृत्त गौशालाले गरिरहेको छ।