वीरगन्ज । नेपाल सद्भावना पार्टी पुनः सक्रिय भएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिल कुमार झाले उक्त पार्टी पुनर्गठन गरेका हुन्। यसलाई निर्वाचन आयोगले हिजो (मंगलबार) मात्रै मान्यता दिएको छ।
अनिल कुमार झाको नेतृत्वमा २०७४ सालमा सद्भावना पार्टीसहित ६ वटा मधेशवादी दलहरू एकीकरण भई राष्ट्रिय जनता पार्टी (राजपा) गठन भएको थियो। त्यसपछि राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी (जसपा) बनेको थियो। जसपामा आएको विभाजनपछि महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको थियो। यसरी विभिन्न दलहरूमा आबद्ध हुँदै आएका झा अहिले पुनः सद्भावना पार्टीमा फर्किएका हुन्।
२०७४ को निर्वाचनमा उनी रौतहट क्षेत्र नं १ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित भएका थिए। उनी खानेपानी मन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए। २०७९ को निर्वाचनमा उनी पराजित भएका थिए।
मधेशको राजनीतिमा प्रभावशाली मानिने सद्भावना पार्टीको पुनर्गठनले मधेशी दलहरूबीचको समीकरणमा नयाँ हलचल ल्याउन सक्ने अनुमान गरिएको छ। अनिल कुमार झाको यो कदमलाई मधेशको राजनीतिमा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने प्रयासको रूपमा हेरिएको छ।