वीरगन्ज । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध बोल्ने जोसुकैलाई पनि कारबाही गरिने आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यी तीन शीर्ष नेताविरुद्ध आवाज उठाउनेहरूलाई विभिन्न किसिमले दबाउने गरिएको दाबी गरे।
उनले भने, ‘तीन शीर्ष नेताहरूविरुद्ध बोले त्यसको खैरियत छैन। कोही अमरेश सिंह हुन्छ, कोही भीम रावल हुन्छ, कोही रवि लामिछाने हुन्छ, कोही रेशम चौधरी हुन्छ।’ उनले नेताहरूले राज्य शक्तिको दुरुपयोग गरेर विरोधीहरूलाई निसाना बनाउने गरेको आरोप लगाए ।
सांसद सिंहले सरकारले साइबर क्राइमको मुद्दालाई विरोधीमाथि प्रहार गर्न प्रयोग गरिरहेको आरोप लगाए। उनले भने, ‘साइबर क्राइममा राज्यले पुलिसलाई प्रयोग गरेको छ। यहाँ स्वतन्त्र प्रहरी छैन, राज्य नियन्त्रित प्रहरी छ।’
आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै उनले भने, ‘म सांसद हुँदा पनि कुनै कार्यकर्ताले मलाई जथाभाबी गाली गर्ने वा अनेक फोटो राख्दा प्रहरीकहाँ जाँदा एसएसपीले साइबरसम्बन्धी मुद्दा लिँदैनौँ भन्नुभयो। तर, प्रधानमन्त्री र गृहमन्त्रीलाई केही लेख्यो भने दुबई वा जापानबाट भए पनि झिकाएर कारबाही गरिन्छ।’ उनले यो अवस्थाले देशमा साइबर सुरक्षाको ठूलो समस्या रहेको देखाएको बताए।