वीरगन्ज । अशोक राईको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतोको संयोजकत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता हुने भएको छ।
मधेश र उत्पीडित समुदायका मुद्दालाई थप सशक्त बनाउने उद्देश्यसहित यो कार्यगत एकता हुन लागेको हो।
यस सम्बन्धमा जानकारी दिनका लागि दुवै पार्टीले श्रावण २९ गते दिउँसो ३ बजे काठमाडौँको नयाँ बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गर्दैछन्।
राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झाले यो कार्यगत एकताको मुख्य उद्देश्य मधेशको मुद्दालाई थप बलियो बनाउनु रहेको बताएका छन्। उनका अनुसार, यो एकताले उत्पीडित जनता, आदिवासी जनजाति, महिला, दलित र मुस्लिम समुदायका मुद्दाहरूलाई सशक्त ढंगले उठाउनेछ।
नेता झाले अहिले दुई पार्टीबीच मात्रै कार्यगत एकता भएको भए पनि भविष्यमा मधेशको मुद्दामा सकारात्मक रहेका अन्य पार्टीहरूसँग पनि यस्तै एकता गर्दै जाने योजना रहेको बताए। उनले यो एकताले संयुक्त लोकतान्त्रिक मोर्चामा कुनै नकारात्मक असर नपर्ने बरु मोर्चा झनै बलियो हुने दाबीसमेत गरेका छन्।
यो एकतासँगै दुवै पार्टीले आ–आफ्नो सांगठनिक संरचना र पहिचान कायम राख्दै साझा एजेन्डामा मिलेर काम गर्नेछन्।
