वीरगन्ज । अनलाइन व्यापार र क्रिप्टोकरेन्सीमा लगानी गर्ने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा ‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश वर्णवाललाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार बिहान वीरगन्ज –१६, बाइपास गणेशटोलस्थित डेराबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
पीडितहरूको उजुरीपछि प्रहरीले अनुसन्धान गरी वर्णवाललाई पक्राउ गरेको जनाएको छ। उनले ठूलो आम्दानीको लोभ देखाएर नेटवर्किङ व्यवसाय र क्रिप्टोकरेन्सीमार्फत सर्वसाधारणबाट ठूलो रकम संकलन गर्दै आएका थिए। प्रहरीका अनुसार, ठगीसम्बन्धी उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।
वर्णवालले यसअघि पनि ‘अभियान डिजिटल वर्ल्ड’, ‘कबाड पसल’, ‘ऋषि आदिवासी तेल’ जस्ता नाममा व्यापार सञ्चालन गरी थुप्रै व्यक्तिलाई आर्थिक रूपमा डुबाएको आरोप लागेको छ। पीडितहरूका अनुसार, वर्णवाल र उनका छोरा योगेश वर्णवालले उल्टै धम्की दिने गरेकाले लामो समयसम्म प्रहरीले पनि कारबाही गर्न सकेको थिएन।
वर्णवाल केही दिनअघि नारायणघाटमा पनि ठगी मुद्दामा पक्राउ परेका थिए।स्थानीयहरूले करिब १० वर्षअघि आर्थिक अवस्था कमजोर रहेका उनी छोटो समयमै धनी बनेकाले सम्पत्तिको छानबिन गर्नुपर्ने माग राखेका छन्। वीरगन्ज– १०, रानीघाटका स्थायी बासिन्दा वर्णवाल लामो समयदेखि डेरा सरिरहेको पाइएको छ। उनलाई नेपालमा नेटवर्किङ र क्रिप्टोकरेन्सी कारोबारीको माफियाको रूपमा चिनिन्छ।