फाइल तस्बिर
वीरगन्ज। पर्साको बहुदरमाई नगरपालिका–२ मा आज विहान साढे ५ बजे आगलागी हुँदा एक परिवारको घर र चौपाया जलेर पूर्ण रूपमा नष्ट भएको छ।
स्थानीय राजु रामको फुसको घरमा भैँसीलाई खोले पकाउने क्रममा चुलोबाट सल्किएको आगो अचानक फैलिएको थियो। आगलागीका कारण उनको फुसको घर र त्यससँगै जोडिएको गोठसमेत जलेर नष्ट भएको छ। घरभित्र रहेको लत्ताकपडा, भाँडाकुँडा, अन्नपात र गोठभित्र बाँधिएका चौपायाहरू पनि जलेर मरेका छन्।
आगो निभाउने क्रममा राजु रामको शरीरका विभिन्न भागमा चोट लागेको छ। अस्थायी प्रहरी पोस्ट बिन्दाबासिनीबाट खटिएको प्रहरी हवल्दार ओम प्रकाश यादवको टोलीले घाइते रामलाई तत्कालै उद्धार गरी एम्बुलेन्समा राखेर नारायणी अस्पताल पठाएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आज बिहान ६ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। यस आगलागीबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।