ट्रेन्डिङ

कैदीको मृत्यु प्रकरण : छानबिन समिति गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउने

वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा उपचारका क्रममा एक कैदीको मृत्यु भएपछि उत्पन्न तनाव नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय पर्साले छानबिन समिति गठन गरेको छ।

मृतकका आफन्त र स्थानीयवासीले अस्पताल तथा जेल प्रशासनको लापरबाहीको आरोप लगाउँदै विरोध प्रदर्शन गरेपछि प्रशासनले यस्तो कदम चालेको हो।

आफन्तको आक्रोश र प्रदर्शनलाई शान्त पार्न तथा घटनाको सत्यतथ्य छानविनका लागि समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा गठित समितिमा सबै सरोकारवाला पक्षलाई समावेश गरिएको छ।

समितिमा मृतककोतर्फबाट मुकेश साह तुराहा, वडा नम्बर २५ का वडा सदस्य जगदिस साह तुराहा, मानवअधिकारकर्मी, प्रहरी प्रतिनिधि, अस्पताल प्रशासनका प्रतिनिधि र मृतकका परिवारका सदस्यहरू छन्। समितिलाई घटनाको गहिराइमा पुगेर विस्तृत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

वीरगन्ज–२५ का राहुल तुहारा आज बिहान जेलभित्र व्यायाम गरिरहेका बेला अचानक अस्वस्थ भएपछि उनलाई उपचारका लागि नारायणी अस्पताल लगिएको थियो। तर, अस्पतालका चिकित्सकहरूले उनको अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि बाहिरको सुविधासम्पन्न अस्पतालमा रेफर गर्न सिफारिस गरे।

यद्यपि, मृतकका आफन्तले दिएको जानकारीअनुसार, जेल प्रशासनले सुरक्षाको कारण देखाउँदै उनलाई बाहिर लैजान अनुमति दिएन। यसै कारण उपचारमा ढिलाइ भएको र राहुलको मृत्यु भएको आरोप लगाउँदै परिवारजनले नारायणी अस्पताल बाहिर प्रदर्शन गरेका थिए।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै