वीरगन्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता अनिलकुमार झाले पार्टीबाट राजीनामा दिएका छन्।
पार्टीमा लामो समयदेखि निष्क्रिय रहेका झाले एक महिनाअघि नै राजीनामा दिएको र त्यसलाई पार्टीले स्वीकृत गरिसकेको छ। यद्यपि यसको औपचारिक घोषणा भने गरिएको छैन।
पार्टी अध्यक्ष महन्थ ठाकुर निकट नेता सुरेन्द्र झाले अनिलकुमार झाले दिएको राजीनामा स्वीकृत भइसकेको जानकारी दिएका छन्। उनका अनुसार, झा पार्टीको गतिविधिबाट लामो समयदेखि टाढा थिए।
यता, लोसपाकै अर्का नेता रामप्रकाश चौधरीले भने झाको राजीनामाबारे औपचारिक जानकारी नभएको बताएका छन्। ‘उहाँ पार्टी बैठकमा सहभागी हुन छाडेको ५–६ महिना भइसकेको छ,’ चौधरीले भने, ‘औपचारिक रूपमा पार्टीबाट राजीनामा दिएको जानकारी छैन। पार्टीलाई नै जानकारी नभएपछि मलाई थाहा हुने कुरा भएन।’ यसले गर्दा पार्टीभित्र नै राजीनामाको विषयमा एकरूपता नभएको देखिन्छ।
उनी २०७४ सालको आम निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। सोही क्रममा उनी खानेपानी मन्त्रीसमेत बनेका थिए। तर, २०७९ सालको पछिल्लो चुनावमा भने उनी पराजित भएका थिए।
अनिलकुमार झाको राजनीतिक यात्रा महत्त्वपूर्ण रह्यो। विद्यार्थी जिवनदेखि नै उनी मधेश केन्द्रित राजनीतिमा जोडिए । सद्भावना पार्टी हुँदै उनको राजनीतिक जीवन लोसपासम्म आइपुगेको थियो ।
आगामी दिनमा उनको राजनीतिक बाटो के हुने भन्नेबारे भने केही खुलेको छैन।