वीरगन्ज । नेपालले भारतमा बिजुली निर्यातको क्षमता बढाएको छ। भारत सरकारले नेपालका पाँच जलविद्युत् आयोजनाबाट उत्पादित थप २०० मेगावाट बिजुली खरिद गर्न सहमति दिएको छ।
यससँगै भारतमा हुने कुल निर्यातको स्वीकृति १०११ मेगावाट पुगेको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार, भारतले यसअघि ८१०.९ मेगावाट बिजुली आयात गर्न अनुमति दिएको थियो। नयाँ प्राप्त २०० मेगावाटको स्वीकृतिसँगै निर्यातको कुल क्षमता बढेको हो। यो अनुमति आगामी अक्टोबर ३१ सम्मका लागि मान्य हुनेछ।
यी थप २०० मेगावाट बिजुली निर्यात हुने आयोजनाहरूमा लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला, सुपर काबेली खोला ए र सुपर काबेली खोला रहेका छन्।
प्राधिकरणले गत आर्थिक वर्ष (२०८१र८२) मा भारतमा बिजुली निर्यात गरेर १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो। भारत सरकारबाट थप निर्यात अनुमति प्राप्त हुनु र यसको दायरा अझै बढ्ने अपेक्षाका कारण यस आर्थिक वर्षमा बिजुली निर्यातबाट हुने आम्दानी दोब्बर हुने अनुमान गरिएको छ।
नेपालले बंगलादेशमा पनि ४० मेगावाट बिजुली निर्यात गरिरहेको छ। यसलाई जोड्दा नेपालको कुल निर्यात स्वीकृति १०५०.९ मेगावाट पुगेको छ।