ट्रेन्डिङ

मुख्यमन्त्री सिंहद्वारा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको निरीक्षण

राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् ।

लामो समयदेखि उपेक्षित रहेको यस औद्योगिक क्षेत्रको विकासमा प्रदेश सरकारले विशेष चासो देखाएको छ।

वि.सं. २०४४ सालमा स्थापना भएको भए पनि यो औद्योगिक क्षेत्र पूर्वाधारको अभावमा समस्याग्रस्त रहँदै आएको छ। हाल यहाँ १२ वटा उद्योग सञ्चालनमा छन् भने थप १० वटा प्लट नयाँ लगानीकर्ताको प्रतीक्षामा छन्।

मुख्यमन्त्री सिंहले औद्योगिक क्षेत्रको ढल निकास र खानेपानीजस्ता आधारभूत पूर्वाधारका समस्या समाधानका लागि यस आर्थिक वर्षमा प्रदेश सरकारले ८० लाख रुपैयाँ विनियोजन गरिसकेको जानकारी दिए । साथै, सुरक्षा व्यवस्थालाई सुदृढ गर्न आवश्यक सुरक्षाकर्मीको व्यवस्था मिलाउन पहल भइरहेको पनि उनले बताए ।

‘गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा ठूला उद्योगहरू स्थापना गर्ने प्रचुर सम्भावना छ,’ मुख्यमन्त्री सिंहले भने, ‘ठूला उद्योगहरू आएमा रोजगारीका अवसरहरू बढ्नेछन् र राजस्व संकलनमा वृद्धि भई स्थानीयदेखि राष्ट्रियस्तरसम्मको आर्थिक विकासमा ठूलो टेवा पुग्नेछ।’

मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकार यस औद्योगिक क्षेत्रको समग्र विकासका लागि प्रतिबद्ध रहेको र उद्योगपतिहरूलाई यस क्षेत्रमा लगानी गर्न निरन्तर प्रोत्साहित गरिरहेको स्पष्ट पारे ।

अवलोकनका क्रममा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कामु कार्यालय प्रमुख मनिष कुमार मिश्र र उद्योगी मिलन सिंहले मुख्यमन्त्री सिंहलाई औद्योगिक क्षेत्रको वर्तमान अवस्था र चुनौतीहरूबारे विस्तृत रूपमा अवगत गराएका थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै