वीरगन्ज । बालबालिकामाथि हुने दुर्व्यवहारलाई न्यूनीकरण गर्न र उनीहरूलाई आत्मसुरक्षाका उपाय सिकाउन वीरगन्जमा एक विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
सानो पाइला संस्था, लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटी र नवदीप एकेडेमीको संयुक्त आयोजनामा ‘सुरक्षित स्पर्श’ (Good Touch) र ‘असुरक्षित स्पर्श’ (Bad Touch) विषयमा प्रशिक्षण दिइएको हो।
भिस्वास्थित नवदीप एकेडेमीमा आयोजित कार्यक्रममा कक्षा ३, ४ र ५ मा अध्ययनरत १२७ जना विद्यार्थीले भाग लिएका थिए। यो प्रशिक्षणले विद्यार्थीहरूलाई सानै उमेरमा आफ्नो शरीरको सुरक्षा गर्न र कुनै पनि असहज स्थितिमा कसरी प्रतिक्रिया दिने भन्ने बारे सचेत गराएको छ।
प्रशिक्षणमा प्रशिक्षकहरू सुस्मिता चालिसे र काजल झाले विद्यार्थीहरूलाई सरल भाषा र उदाहरणसहित सुरक्षित र असुरक्षित स्पर्शको भिन्नताबारे जानकारी दिए। उनीहरूले बालबालिकालाई अपरिचित व्यक्तिबाट हुने जोखिमहरू, आत्मसुरक्षाका उपाय र आवश्यक प्रतिकारका तरिकाबारे पनि सिकाएका थिए।
कार्यक्रमको मुख्य उद्देश्य बालबालिकालाई आत्मविश्वासपूर्वक ‘नो’ भन्न सक्ने बनाउनु र कुनै पनि समस्या आएमा आफ्ना विश्वासिला व्यक्ति (जस्तैः आमाबुवा, शिक्षक) लाई तुरुन्त जानकारी गराउने बानीको विकास गराउनु रहेको थियो।
लायन्सका आजीवन सदस्य राधेश्याम खेतानले यस्ता कार्यक्रमहरू प्रारम्भिक उमेरमै बालबालिकाका लागि अत्यन्त महत्त्वपूर्ण हुने बताए। उनले भने, ‘यस्ता विषयमा सानै उमेरमा सचेत गराउन सकिए भविष्यमा उनीहरू असुरक्षित परिस्थितिबाट जोगिन सक्छन्।’
उनले यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई विद्यालय तहमा निरन्तरता दिनुपर्ने आवश्यकतामा जोड दिए। नवदीप एकेडेमीका शिक्षक, विद्यार्थी र अभिभावकहरूले पनि यस प्रकारका तालिमहरूको निरन्तरताको माग गरेका छन्।
कार्यक्रमलाई सफल बनाउन लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटीकी अध्यक्ष सुशिला साहको नेतृत्वमा सानो पाइला संस्थाका कार्यक्रम संयोजक राजकुमार तामाङ लगायतको सक्रिय सहभागिता थियो।