वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले किसानहरूका लागि महत्त्वपूर्ण निर्णय गरेको छ।
जिल्लामा मल वितरणमा देखिएको अनियमितता र अव्यवस्थालाई अन्त्य गर्नका लागि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले कडा निर्देशन दिएका छन्। अबदेखि सहकारी संस्थाले अनुदानमा पाएको मल वास्तविक किसानलाई मात्रै वितरण गर्न पाउनेछन्। यदि किसानबाहेक अरू कसैलाई मल बिक्री गरेको पाइएमा सम्बन्धित सहकारीलाई तत्काल कारबाही गरिने उनले चेतावनी दिएका छन्।
पर्सामा लामो समयदेखि किसानहरूले मल वितरण प्रणालीमाथि प्रश्न उठाउँदै आएका थिए। वास्तविक किसानले मल नपाउने र सहकारीहरूले मल एग्रोभेट मार्फत बेच्ने गरेको गुनासो बढेपछि प्रशासनले यो कदम चालेको हो। प्रजिअ अर्यालले भने, ‘अब यस्ता क्रियाकलापमा संलग्नलाई कारबाही गरिनेछ र मल वितरण प्रणालीको नियमित अनुगमन गरिनेछ ।’
हाल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गर्ने मल स्थानीय तहको सिफारिसमा सहकारी र डिलर मार्फत वितरण हुन्छ। यो कोटा खेतीयोग्य जमिन, अघिल्लो वर्षको खपत र बालीको सघनताका आधारमा तोकिन्छ। प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेले पनि सहकारीले किसान बाहेक अरूलाई मल बेचेमा कारबाही हुने बताएका छन्।
पर्सामा मलको माग र आपूर्तिबीच ठूलो खाडल रहेको पाइएको छ। साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख आमोज लामिछानेका अनुसार जिल्लामा कुल मागको करिब ६० प्रतिशत मात्रै मल उपलब्ध हुँदै आएको छ। विगतको तुलनामा मलको प्रयोग दोब्बर भएकाले आपूर्ति व्यवस्थापन गर्न कठिन भएको उनको भनाइ छ।
सरकारले हाल युरिया प्रति ५० किलोको बोरा ७५० रुपैयाँ, डीएपी २,२०० रुपैयाँ र पोटास १,५०० रुपैयाँमा उपलब्ध गराउँदै आएको छ। सहकारीहरूले भने यातायात खर्च थप गर्न पाउँछन्।
मल वितरणसँग जोडिएका अन्य समस्याबारे पनि छलफल भएको थियो। टारीमाई कृषि सहकारीका अध्यक्ष हरेराम साहले मल बोकेका ट्याक्टरबाट ट्राफिक प्रहरीले पैसा असुल्ने गरेको गुनासो गरे। यसप्रति प्रतिक्रिया दिँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले यस्तो उजुरी आएमा तत्काल कारबाही गर्ने प्रतिबद्धता जनाए।
यसैगरी, वीरगन्ज महानगरपालिका–१९ का कृषि सहकारी अध्यक्ष लक्ष्मण साहले माग अनुसारको मल नहुने र सीमित मल वितरण गर्दा वडाध्यक्ष र राजनीतिक व्यक्तिको दबाबका कारण समस्या हुने गरेको बताए। अब प्रशासनको कडा अनुगमनपछि यस्ता समस्याहरू पनि समाधान हुने विश्वास गरिएको छ।