ट्रेन्डिङ

पर्सामा डीप बोरिङमा अनियमितताको आरोप, एमालेका वडाध्यक्षद्वारा सीडीओको ध्यानाकर्षण

वीरगन्ज । खानेपानीको संकट टार्न पर्सामा गाडिएका डीप बोरिङहरूमा व्यापक अनियमितता भएको भन्दै नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्षहरूले पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालको ध्यानाकर्षण गराएका छन्।

एमाले महानगर इन्चार्ज एवं मधेश प्रदेश कमिटीका उपाध्यक्ष बिचारी यादवको नेतृत्वमा आइतबार सीडीओ कार्यालय पुगेको टोलीले अनियमितताबारे प्रश्न उठाएको हो।

वडाध्यक्षहरूले डीप बोरिङको लागत सार्वजनिक नगरिएको र कुनै पनि स्थानमा वडाध्यक्षसँग समन्वय नगरी जथाभावी बोरिङ गाडिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले यस कार्यमा ठूलो अनियमितता भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।

टोलीमा सहभागी वडाध्यक्ष रामकिशोर सिंह (पराग) ले भने, ‘कुनै पनि ठाउँको स्टिमेट सार्वजनिक गरिएको छैन। हामीले माग्दा पनि कतैबाट पाइरहेका छैनौँ। हामीले सीडीओलाई दुई दिनभित्र कहाँ, कति खर्चमा डीप बोरिङ गाडियो, त्यसको हरहिसाब दिन माग गरेका छौँ।’

यदि दुई दिनभित्र हरहिसाब उपलब्ध नगराइए पार्टीगत निर्णय गरेर कडा कदम चाल्ने चेतावनी पनि वडाध्यक्षहरूले दिएका छन्। यादवका अनुसार, यदि सूचना उपलब्ध नगराए लिखित रूपमा माग गर्ने र त्यसपछि पनि नदिए खानेपानी कार्यालयमा तालाबन्दी गर्ने तयारी छ।

वडाध्यक्ष परागले ‘सरकारी पैसा कार्यकर्ताको घरअगाडि खन्याउने काम भइरहेको’ आरोप लगाउँदै आवश्यकताविनै डीप बोरिङ गाडिएको बताए।

मधेश प्रदेशलाई सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेपछि खानेपानीको समस्या समाधान गर्न धमाधम डीप बोरिङ गाड्ने काम भइरहेको छ। तर यसमा संघीय खानेपानी मन्त्रालय र महानगरले वडा कार्यालयसँग समन्वय नगरी काम गरेको आरोप लागिरहेको छ।

ध्यानाकर्षण गराउने टोलीमा सुरेश साह कानु, प्रदीप चौरसिया, अवधकिशोर कुशवाहा, जितेन्द्र यादव, सञ्जु क्षतकुली, विजय कुर्मी र हिरा गिरीलगायतका वडाध्यक्षहरूको सहभागिता थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै