वीरगन्ज । बाराको फेटाबजार नजिकै गण्डक नहरको किनारामा अतिक्रमण हुँदा रौतहट जिल्लाका किसानहरू सिँचाइको समस्याले मर्कामा परेका छन्।
मधेश प्रदेशमा खडेरीको अवस्था रहेका बेला बाराका किसानहरूले नहरको किनारा भत्काएर उत्तरतर्फ पानी लैजाँदा रौतहटको बङ्कुलसम्म पानी पुग्न सकेको छैन। नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजकुमार पटेलका अनुसार, पछिल्लो एक महिनामा बाराको फेटाबजार नजिकै डेढ किलोमिटरको दुरीमा चार पटक गण्डक नहरको संरचना भत्काएर अवैध रूपमा पानी लगिएको भेटिएको छ।
यसबारे स्थानीय प्रशासन र प्रहरीलाई पटकपटक उजुरी दिइए पनि दोषीको पहिचान हुन सकेको छैन। कार्यालयको तालिका अनुसार, आइतबारदेखि मंगलबारसम्म पर्सामा पानी वितरण गरिन्छ भने बुधबारदेखि शनिबारसम्म बारा र रौतहटका किसानलाई पानी उपलब्ध गराइन्छ। तर, बारामा नहर भत्काउने कार्यले रौतहटको पालोमा पानी पुग्न नसकेको पटेलले बताए।
बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले नहरको किनारा भत्काउनेहरूको खोजी भइरहेको र यस्तो कार्य नियन्त्रणका लागि पहल भइरहेको बताए।
यसका साथै, भारतले पनि सम्झौताअनुसार गण्डक नहरमा पर्याप्त पानी उपलब्ध गराएको छैन। नेपालको चौतर्फी दबाबपछि मात्रै अहिले ७०० क्यूसेक पानी उपलब्ध गराइएको छ, जुन सम्झौताअनुसारको ८५० क्यूसेकभन्दा कम हो। भारतले नहरको सरसफाइ नभएको कारण देखाउँदै कम पानी पठाएको पत्र पठाएको छ।