ट्रेन्डिङ

सशस्त्र प्रहरीको सक्रियताले रौतहटमा ५ करोडभन्दा बढीको अवैध सामान बरामद

रौतहट । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल रौतहटले गत आर्थिक वर्ष २०८१/८२ मा पाँच करोड ७४ लाख दुई हजार ६९९ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल रौतहटका प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतका अनुसार प्रहरीको सक्रियता बढेसँगै भन्सार छलेर ल्याइएका सामानहरू पक्राउ गर्ने क्रममा वृद्धि भएको हो। बरामद गरिएका सामानहरूमा २ करोड ३१ लाख ४७ हजार रुपैयाँ बराबरका विभिन्न सवारी साधनहरू छन्।

जसमा एक–एक थान स्कारपियो, सफारी, बोलेरो, म्याजिक र अटोरिक्सासहित १८० वटा मोटरसाइकल पर्छन्। यी सबै सवारी साधनहरूलाई गौर भन्सार कार्यालयमा बुझाइएको छ। त्यसैगरी, २ करोड ४८ लाख ४५ हजार ६५३ रुपैयाँ मूल्यका अवैध किराना, कस्मेटिक, लत्ताकपडा र मोटरपार्ट्स पनि बरामद भएका छन्।

सशस्त्र प्रहरीले स्रोत नखुलेको ४८ लाख १७ हजार ११० नेपाली रुपैयाँ र ९ लाख ४९ हजार ४४९ भारतीय रुपैयाँ पनि नियन्त्रणमा लिएको छ। यसका अतिरिक्त, प्रहरीले ६९३ क्युफिट काठ, ५ लाख ५१ हजार ८२५ रुपैयाँ मूल्यको ४०६ कार्टुन मदिरा, ८५० किलोग्राम माछा, १२४९ किलोग्राम बोइलर कुखुरा, १६ वटा गाईगोरु, भैँसी र पाडापाडी, तथा ४ लाख ३ हजार ५६ रुपैयाँ मूल्यका पटका समेत बरामद गरेको छ।

प्रहरी उपरीक्षक बस्नेतले रौतहटको दक्षिणी सीमामा पाँचवटा ‘बोर्डर आउटपोस्ट’ र आठवटा सुरक्षा बेस क्याम्पहरू मार्फत तस्करी नियन्त्रणको कामलाई निरन्तरता दिइएको बताए। सशस्त्र प्रहरीको यो सफलताले राजस्व चुहावट नियन्त्रणमा ठूलो सहयोग पुगेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै