सर्लाही । जिल्लाको बसवरियामा जनता समाजवादी पार्टी (जसपा) नेपाललाई ठूलो धक्का लागेको छ।
जसपा परित्याग गरी पूर्व वडा अध्यक्ष कमल चौधरी र युवा नेता सुरेश साहको नेतृत्वमा करिब १०० जना व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रम नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवं पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंह को पहलमा भएको हो।
एक विशेष कार्यक्रम आयोजना गरी पूर्वमन्त्री सिंहले नवप्रवेशीहरूलाई माला र टीका लगाएर स्वागत गरे। पछिल्लो समय सर्लाही जिल्लामा नेपाली कांग्रेस सशक्त बन्दै गएको दाबी गर्दै प्रदेश सांसद सिंहले भने, ‘जनताको दुःखसुखमा निरन्तर साथ दिइरहेका छौं, विकास–निर्माण र जनसेवामा कांग्रेसको उपस्थिति बढ्दो छ।’
उनले जिल्लाका १२ वटा स्थानीय तहमा कांग्रेसले जित हासिल गरिसकेको र आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पनि विजयी हुने गरी संगठन बलियो बनाइरहेको बताए।
पूर्वमन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठी का अनुसार, केही दिनअघि मात्र हरकठवामा पनि पार्टी प्रवेशको कार्यक्रम भएको थियो। पछिल्लो समय कांग्रेसप्रति आकर्षण बढ्दै गएको र विभिन्न पार्टीका नेता–कार्यकर्ताहरू प्रवेश गरिरहेको उनले बताए ।