कलैया । बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको छ।
यो नाकाबाट अवैध रूपमा सामान ओसारपसार भइरहेको र यसमा इलाका प्रहरी कार्यालय छतवाका वरिष्ठ सई अरुण यादवको समेत मिलेमतो रहेको आरोप लागेको छ।
प्रहरी र तस्कर समूहबीचको बलियो ‘सेटिङ’ यतिसम्म छ कि जिल्ला प्रहरी प्रमुख (एसपी) सन्तोष तामाङको निर्देशनलाई समेत बेवास्ता गरिएको छ। चार दिनअघि एसपी तामाङले तस्करीबारे जानकारी पाएपछि सई यादवलाई बोलाएर कडा निर्देशन दिएका थिए। तर, एसपीको आदेशलाई लत्याउँदै सई यादवले तस्कर समूहलाई अझै पनि ‘लाइन’ दिएको आरोप छ।
तस्करहरूले भारतीय बजार रक्सौलबाट मोटरसाइकल र साइकलको प्रयोग गरी विभिन्न सामानहरू नेपाल भित्र्याउने गर्छन्। तस्करी हुने सामानहरूमा सर्टिङ सुटिङ कपडा, रजनीगन्धा, काजु, हार्डवेयरका सामान, मोबाइल पार्ट्स, चिनी र कम्प्युटर पार्ट्स जस्ता वस्तुहरू प्रमुख छन्।
यी सामानहरू वीरगन्ज, कलैया, प्रसौनी, जितपुर र परवानीपुर हुँदै पिकअप, बस र ट्रकका साथै ट्रान्सपोर्ट मार्फत देशका विभिन्न सहरहरूमा पुर्याइन्छ। तस्करीको यो जालोलाई व्यवस्थित गर्न सई यादवले घुमुवा प्रहरी समेत परिचालन गरेको आरोप छ।
अहिले करिब दुई दर्जन ठूला र साना तस्कर समूह सई यादवको सेटिङमा सक्रिय छन्। प्रहरीकै यस प्रकारको मिलेमतोले राज्यलाई राजस्वमा ठूलो घाटा पुगेको छ भने यसले सुरक्षामा पनि गम्भीर चुनौती थपेको छ।