ट्रेन्डिङ

कांग्रेस निकट किसान महासंघ मधेश प्रदेशको प्रथम ऐतिहासिक अधिवेशन वीरगन्जमा सम्पन्न, सन्तलाल साह सभापतिमा चयन

वीरगन्ज । नेपाली कांग्रेस निकट नेपाल किसान महासंघ, मधेश प्रदेशको प्रथम ऐतिहासिक अधिवेशन वीरगन्नमा भव्यताका साथ सम्पन्न भएको छ।

नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको यस अधिवेशनले सर्वसम्मतिले रौतहटका सन्तलाल साहलाई सभापतिमा चयन गरेको छ।

आज वीरगन्जमा ‘आफ्नो देशको उत्थान हाम्रो शान, किसान उन्नती हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु भएको अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि कृष्ण यादवले किसानका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले किसानको हितमा काम गर्न नेपाल किसान महासंघलाई आग्रह गर्दै यसको सफलताको कामना व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी, कांग्रेस नेता एवम् मधेश प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री लगायतको पनि उपस्थिति रहेको थियो। उनीहरुले किसानको जीवनस्तर उकास्नका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू ल्याएको जानकारी गराएका थिए ।

अधिवेशनले ५१ सदस्यीय समिति बनाउने छ। बाँकी पदाधिकारीहरूको टुंगो भने छलफल र परामर्शपछि लगाइने कांग्रेसका नेता एवम् मधेश प्रदेश सभा सदस्य श्याम पटेलले जानकारी दिए । अधिवेशनमा कांग्रेसका जिल्ला प्रतिनिधि, नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो।

अधिवेशनले किसानका हक अधिकारको रक्षाका लागि काम गर्ने र उनीहरुको समस्यालाई सरकार समक्ष पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै