ट्रेन्डिङ

‘मेरो पानी मेरो बानी’ अभियान अन्तर्गत वीरगन्जमा खडेरी प्रभावितलाई राहत सामग्री वितरण

वीरगन्ज । युनिसेफ नेपाल र वीरगन्ज महानगरपालिकाको संयुक्त आयोजनामा वीरगन्जमा ‘मेरो पानी मेरो बानी’ अभियान संचालन गरिएको छ।

पर्सा जिल्लामा क्रियाशील चार स्थानीय संस्थाहरू नेपाल रेडक्रस सोसाइटी, नेपाल खानेपानी संस्थान, दिगो विकास स्रोत केन्द्र तथा एन.जी.ओ. सि.सि.को सहकार्यमा यो अभियान सञ्चालन गरिएको हो । खानेपानी अभावको गम्भीर समस्या भोगिरहेका समुदायहरूलाई लक्षित गरी आज वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरस्थित धागर टोलमा विशेष कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम अन्तर्गत ३० जना स्थानीय बासिन्दाहरूलाई एक–एक थान बाल्टिमा नल (टुटी) जडान गरिएको सेट, एक थान जग तथा एक थान पानी सफा गर्ने केमिकल हस्तान्तरण गरिएको छ । विगत केही समयदेखि तराई, विशेषगरी मधेश प्रदेशका विभिन्न भागहरूमा पानीको अभाव गहिरिँदै गएको सन्दर्भमा यो कार्यक्रम महत्वपूर्ण पहलको रूपमा देखिएको छ।

जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानले अहिले अति प्रभावित स्थानमा ६ सय थान बाड्ने र आगामी दिनमा अरु स्थानमा पनि बाडने योजना रहेको बताए। यस्तो खडेरी समस्या समाधानका लागि दीर्घकालीन उपाय खोज्नु आवश्यक रहेको उनको भनाई छ ।

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगन्ज शाखाकी वरिष्ठ सदस्य तथा समाजसेवी गुड्डी साहको नेतृत्व रहेको थियो। उनको सक्रियतामा नन्दनी गुप्ता, प्रिया कुश्वाहा, तथा एन.जी.ओ. सि.सि.का प्रतिनिधि दुलारचन प्रसाद र आनन्द यादवको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

स्थानीय समुदायमा पानीको पहुँच सुनिश्चित गर्न तथा जल स्रोतको प्रभावकारी व्यवस्थापनमा नागरिकलाई सचेत गराउने उद्देश्यले ‘मेरो पानी मेरो बानी’ अभियान संचालन गरिएको आयोजक संस्थाले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै