ट्रेन्डिङ

प्रहरी र तस्करको साँठगाँठले मधेशको सीमामा असुरक्षा बढ्यो : पूर्वमन्त्री यादव

वीरगन्ज । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमेश यादवले सीमा क्षेत्रमा बढ्दो असुरक्षा र राज्यको व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले मधेशका जनता प्रहरी र तस्कर दुवैतर्फबाट असुरक्षित रहेको आरोप लगाएका छन्। हालै सप्तरीमा तस्कर र प्रहरीबीचको झडपमा एक व्यक्तिको ज्यान गएको घटनालाई जोड्दै यादवले सादा पोसाकमा खटिएका घुमुवा प्रहरी र स्थानीय युनिटहरूको मिलेमतोमा तस्करी मौलाएको बताएका छन्।

उनले ‘सम्प्रेषण नहुँदा र सम्मानजनक भागबन्डा नहुँदा’ यस्ता समस्या उत्पन्न हुने गरेको दाबी गरेका छन्। यसका साथै, उनले मधेशमा ठूलो रकम लिएर प्रहरीको सरुवा हुने र ‘असुल्न सक्नेहरूको सरुवामा’ नै भाउ तय गरिने गरेको आरोप पनि लगाएका छन्।

यादवले राज्यको दृष्टिकोण अझै पनि ‘औपनिवेशिक’ रहेको भन्दै आक्रोश व्यक्त गरेका छन्। ‘काठमाडौँमा पानीको फोहराले काम चलाउने प्रहरीले मधेशमा गोली प्रयोग गर्छन्,’ उनले भने, ‘तर, यसमा हाम्रो गुलामी मानसिकताको पनि दोष छ।’

उनले प्रहरीको गोली लागेर ज्यान गुमाएका सप्तरीका लालु यादवको प्रसङ्ग उठाउँदै, उनीसँग कुनै हतियार बरामद नभएको र नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि प्रहरीले ‘मन मिले सत्कार, नमिले बलात्कार’ मानसिकता देखाएको आरोप लगाए।

पूर्वमन्त्री यादवले प्रशासनले सञ्चारकर्मी र राजनीतिकर्मीलाई आफ्नो ‘वकालत गरिदिने पात्र’ का रूपमा प्रयोग गरिरहेको र दलाल प्रवृत्तिका व्यक्तिहरूको प्रभाव बढ्दै गएको आरोप पनि लगाएका छन्। उनले सीमामा भारतीय तस्कर र स्थानीय तस्करको साँठगाँठले मधेशी जनताको ज्यान नै जोखिममा पर्न सक्ने चेतावनी दिएका छन्।

यादवले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज, व्यापारी तथा युवाहरूलाई यस विषयमा गम्भीर र संवेदनशील बन्न आग्रह गर्दै, राज्यका अङ्गहरूले आफूलाई जनताको सेवक ठान्नुपर्ने बताएका छन्। उनले ‘राज्यको असमावेशी चरित्र र सिंहदरबारका शासकको नियतमै समस्या’ रहेको निष्कर्ष निकालेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै