वीरगन्ज । वीरगन्जको राधेमाई टोलमा भएको एउटा दर्दनाक घटनाले समाजमा गहिरो आक्रोश पैदा गरेको छ।
मोटरसाइकल मर्मत गर्ने पेशामा संलग्न नेक मोहम्मद र अफ्ताब अन्सारी नामका दुई व्यक्तिले एक किशोरीलाई तीन दिनसम्म बन्धक बनाई बसपार्कस्थित एक होटलमा सामूहिक बलात्कार गरेको र पछि गम्भीर अवस्थामा घडिअर्वा पोखरीको गल्लीमा फालिदिएको घटना सार्वजनिक भएको छ।
यस जघन्य अपराधको विरोधमा राष्ट्रिय समता पार्टी नेपाल, वीरगन्ज महानगर समितिले नगर संयोजक अमर सर्राफको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, पर्सामा ध्यानाकर्षण पत्र बुझाएको छ। ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यो घटना कुनै एक चेलीमाथिको हिंसा मात्र होइन, यो त सिङ्गो समाजका चेलीबेटीहरूको अस्मितामाथिको गम्भीर प्रहार हो।’
पार्टीले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने भन्दै निष्पक्ष अनुसन्धानको माग गरेको छ। यदि कुनै किसिमको दबाब वा मिलोमतोमा अपराधीलाई छुट दिन खोजिए त्यसको कडा प्रतिवाद गरिने चेतावनी पनि पार्टीले दिएको छ। राष्ट्रिय समता पार्टीले दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै आवश्यक परेमा सडक संघर्षमा उत्रिने अवस्था आउन सक्ने चेतावनी पनि दिएको छ।
यस घटनाबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान जारी राखेको छ।