वीरगन्ज । मनसुनको तयारीका लागि सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशमा विशेष प्राथमिकताका साथ विभिन्न १२ स्थानमा मनसुन प्रतिकार्य अस्थायी वेश स्थापना गरेको छ।
वर्षाका कारण जोखिममा पर्न सक्ने क्षेत्रहरू पहिचान गरी नागरिकको उद्धार कार्य सहज बनाउन यस्तो पहल गरिएको हो। सशस्त्र प्रहरी बलले मधेश प्रदेश अन्तर्गत सप्तरीमा भारदह र बर्साईन, सिरहामा मिल, धनुषामा दुवरकोट, महोत्तरीमा रघुनाथपुर र बनौटा, सर्लाहीमा धरहरा, रौतहटमा फतुवा, बारामा तेलकुवा र कलैया तथा पर्सामा पोखरीयामा अस्थायी वेशहरू स्थापना गरेको छ।
यी सबै वेशहरूमा विपद् उद्धार सामाग्रीसहितको सुरक्षा फौज तयारी अवस्थामा राखिएको छ। यसका साथै, विपद् व्यवस्थापनमा स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण हुने ठहर गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले २२७ जनालाई विपद् स्वयंसेवक अनुशिक्षण तालिम दिएको छ। यो तालिमले समुदायलाई उद्धार तथा सहयोग कार्यमा सुरक्षाकर्मीसँग कसरी परिचालन हुने भन्नेबारे जानकारी गराएको छ।
काठमाडौ उपत्यकासहित सशस्त्र प्रहरी बल नेपालले देशभर ४१ वटा स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेश स्थापना गरेको छ । आपत–विपतमा परेका नागरिकहरूलाई तत्काल उद्धार तथा सहयोगका लागि नजिकको सशस्त्र प्रहरी बल वा टोल फ्रि नम्बर १११४ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।
यसअघि सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा स्थानीय समुदायको समेत महत्वपूर्ण भूमिका रहने भएकोले देशभरी १ लाख ६८ हजार ९ सय ५६ जना विपद् सुचक तयार गरेको छ ।आपद् विपद्मा परेका नागरिकहरुको उद्वार तथा सहयोगमा सुरक्षाकर्मीसहित कसरी परिचालन हुने तथा खबर आदानप्रदान कस्तो अबस्थामा गर्ने भन्ने बारे जानकारी गराईएको छ ।
उनीहरुले मनसुनको बेला विपद्मा परेका आम नागरिकहरुको उद्वारको लागि नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाललाई जानकारी गराउनसाथ विपद् उद्वार सामाग्रीसहितको सुरक्षा फौज परिचालन हुनेछ । त्यसैगरी देशभर ९ सय ९० जनालाई विपद् स्वयंसेवक अनुशिक्षण तालिम दिईएको छ ।