वीरगन्ज – वीरगन्जबाट प्रकाशित हुँदै आएको ‘मध्य नेपाल सन्देश’ साप्ताहिक पत्रिकाले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा तीन जना पत्रकारलाई सम्मान गर्ने भएको छ।
मध्य नेपाल मिडिया सञ्चालक समितिको हालै सम्पन्न बैठकले मधेशमा पत्रकारिताको माध्यमबाट महत्त्वपूर्ण योगदान पुर्याउने पत्रकारहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। यस वर्षको ‘उत्कृष्ट महिला पत्रकारिता पुरस्कार’ जनकपुरकी पत्रकार मनिका झालाई प्रदान गरिने भएको छ। अन्नपूर्ण पोस्ट दैनिककी मधेश ब्युरो प्रमुख झालाई १५ हजार रुपैयाँको नगद पुरस्कारले सम्मान गरिने सम्पादक कविता खड्काले बताइन्।
पत्रकार झा लामो समयदेखि मधेश क्षेत्रमा बसेर महिलाका मुद्दाका साथै अन्य महत्त्वपूर्ण मुद्दामा सशक्त कलम चलाउँदै आएकोले उनलाई सम्मान गर्न लागिएको सम्पादक खड्काले बताइन् । पत्रकार झा धनुषा पत्रकार महासंघको जिल्ला अध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेकी छन्।
पत्रिकाले यसैगरी आफ्नो स्तम्भकारका रूपमा लामो समयदेखि योगदान पुर्याउँदै आएका दुई जनालाई पनि पुरस्कृत गर्ने निर्णय गरेको छ। ‘खोजी जवाफदेहिताको’ स्तम्भकार शिवनाथ प्रसाद यादव र सामाजिक मुद्दामा कलम चलाउँदै आएकी गीता भण्डारीलाई जनही ११ हजार १ सय रुपैयाँको नगद पुरस्कारले सम्मान गरिने भएको छ। यादव समाजमा देखिएका बेथितिविरुद्ध र भण्डारी सामाजिक विषयवस्तुमा विगत १० वर्षदेखि निरन्तर ‘मध्य नेपाल सन्देश’ मा लेख्दै आएका छन्।
पुरस्कृत तीनै जनालाई यही भदौ १२ गते आयोजना हुने पत्रिकाको १०औँ वार्षिकोत्सव समारोहमा एक विशेष कार्यक्रमबीच सम्मान गरिनेछ। यसअघि ‘उत्कृष्ट महिला पत्रकारिता पुरस्कार’ सुनिता बराल, शारदा पोखरेल र निलिमा पौडेललाई प्रदान गरिएको थियो ।