फाइल तस्बिर
वीरगन्ज । नेपाल सङ्घीय समाजवादी पार्टीले देशभर फैलिएको भ्रष्टाचार र बेथिति विरुद्ध राष्ट्रव्यापी जनजागरण अभियान चलाउने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय पदाधिकारी र काठमाडौँ उपत्यका समितिको संयुक्त बैठकले उक्त अभियानलाई अघि बढाउने निर्णय गरेको हो। राजधानीस्थित पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा आज सम्पन्न बैठकले वर्तमान राजनीतिक अवस्थाको समीक्षा गर्दै देशमा व्याप्त भ्रष्टाचार, लुटतन्त्र र शोषणले आम नागरिकको जीवन अस्तव्यस्त भएको निष्कर्ष निकालेको छ। पार्टीले यस अभियानलाई ‘सङ्घीय गणतान्त्रिक गठबन्धन’को आह्वानमा संयुक्त रूपमा अगाडि बढाउने जनाएको छ।
अभियानअन्तर्गत आगामी भदौ ७ गते महोत्तरीको जलेश्वरमा र भदौ २७ गते काठमाडौँमा भव्य अन्तरक्रिया तथा जनसभा आयोजना गरिने भएको छ। बैठकले यी दुई प्रमुख कार्यक्रमहरूलाई प्रभावकारी बनाउन देशभरका सम्पूर्ण पार्टी कार्यकर्तालाई पूर्ण तयारीमा जुट्न निर्देशन दिएको छ। काठमाडौँमा हुने जनसभाको सफल आयोजनाका लागि महासचिव अनन्त राईको नेतृत्वमा १३ सदस्यीय तयारी समिति समेत गठन गरिएको छ।
पार्टीले यो अभियान ‘अन्याय, उत्पीडन र भ्रष्टाचारविरुद्ध जनताको आवाज’ बनेर उठ्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, भदौ २७ गते काठमाडौँमा हुने ‘उत्पीडित जनताको मुक्ति आन्दोलन तथा वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा सबै नागरिकलाई सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ।
पार्टीकी उपाध्यक्ष सीमा खानको अध्यक्षतामा बसेको बैठकमा सञ्चालन महासचिव अनन्त राईले गरेका थिए । बैठकमा कोषाध्यक्ष ममताज अन्सारी, उपमहासचिवहरू जनक कार्की र सुरेन्द्र प्रधान, सचिव दिनेश पाख्रिन, उपत्यका इन्चार्ज चन्द्र तामाङ, विदेश विभाग प्रमुख ठाकुरचन्द्र गहतराज, साथै अन्य केन्द्रीय पदाधिकारी तथा उपत्यकाका नेताहरूको उल्लेखनीय उपस्थिति थियो।