कलैया । करैयामाई गाउँपालिकाले एक नम्बर वडाका वडा सदस्यको निधनमा शोक बिदाको घोषणा गरेको छ।
गाउँपालिका कार्यालयले एक सूचना जारी गर्दै वडा नं– १, हरैयाका वडा सदस्य मञ्जुर आलम अन्सारीको असामयिक निधन भएको जानकारी दिएको छ।
उनको निधनमा गाउँपालिकाले साउन २२ गते बिहीबारका दिन शोक बिदा दिने निर्णय गरेको छ। सोही दिन करैयामाई गाउँपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालयहरू, सामुदायिक विद्यालयहरू र स्वास्थ्य संस्थाहरू बन्द रहनेछन्।
गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादवले जारी गरेको सूचनामा मृतक वडा सदस्यको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ।
यस दुखद घडीमा गाउँपालिकाले शोक बिदाको निर्णय गरी मृतकप्रति सम्मान व्यक्त गरेको छ।
