ट्रेन्डिङ

पूर्वराष्ट्रपति भण्डारीप्रतिको नकारात्मक टिप्पणी अनुचित, कडाइका साथ रोक्नुपर्छ : एमाले महासचिव पोखरेल

वीरगन्ज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि भइरहेको नकारात्मक टिकाटिप्पणीलाई कडाइका साथ रोक्नुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा प्रचार क्षेत्रमा खटिएका अगुवा नेताहरूलाई सम्बोधन गर्दै उनले पार्टी केन्द्रीय कमिटीको बैठकले भण्डारीको गौरवपूर्ण कामलाई उच्च सम्मान गरेको बताए । महासचिव पोखरेलले भने, ‘पूर्वराष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीप्रति जुन प्रकारका नकारात्मक टिकाटिप्पणीहरू आइराखेका छन्, त्यसलाई कडाइका साथ रोक्नुपर्छ। उहाँको सम्मान र गरिमामा आँच आउने कुनै पनि काम गर्नुहुन्न।’

एमालेको ठहरअनुसार, भण्डारीले राष्ट्रपतिको रूपमा निर्वाह गरेको अभिभावकीय भूमिका अतुलनीय छ र नेपालको संवैधानिक राष्ट्रपति इतिहासमा सम्मान गर्ने नेतृत्वका रूपमा स्थापित भइसकेको छ। महासचिव पोखरेलले नेपालको संविधान, गणतन्त्रको संस्थागत विकास, पार्टी र स्वयं व्यक्तिको हितका लागि पनि राष्ट्रपति र पूर्वराष्ट्रपति सदैव सम्माननीय र आदरणीय रहनुपर्ने कुरामा जोड दिए ।

उनका अनुसार संवैधानिक राष्ट्रपति पदमा रहँदा मात्रै नभई पदबाट हटेपछि पनि सम्माननीय हुन्छन्। यस्ता व्यक्तिले कुनै गल्ती गर्दैनन्, सबैका लागि आदरणीय हुन्छन् र विवादभन्दा माथि रहेर साझा अभिभावकको भूमिका निर्वाह गर्छन्। पोखरेलले पदबाट हटेपछि पनि विशिष्ट सम्मान र मर्यादा दिनुपर्छ भन्ने कुरा नै स्थापित भएको तर्क गरे ।

महासचिव पोखरेलले पूर्वराष्ट्रपति भण्डारी र पार्टीबीच द्वन्द्व छ भन्ने हल्लाको खण्डन गर्दै यस्तो हल्लाको आयु सकिएको दाबी गरे । उनले भण्डारीप्रतिको नकारात्मक टिकाटिप्पणीलाई गणतन्त्र विरोधीहरूको खेती भएको निष्कर्ष सुनाउँदै यस्ता अफवाह र दुष्प्रचारमा नलाग्न सबैलाई आग्रह गरे ।

एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई अब सक्रिय राजनीतिमा नफर्काउने निर्णय गरिसकेको जानकारी पनि उनले दिए । यो निर्णय सबैको हितमा रहेको र यसलाई अन्यथा रूपमा बुझ्न वा दुष्प्रचार गर्न जरुरी नभएको उनको भनाइ थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै